भक्तपुरः नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिनका अवसरमा आज भक्तपुरमा पहिला आइपुग्ने विदेशी पर्यटकलाई सम्मान गरिएको छ ।

भक्तपुर दरवार क्षेत्रको मुल ढोकामा भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरूलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फूलको गुच्छा, भादगाउँले कालो टोपी, भक्तपुर नगरपालिकाको प्रकाशन, विभिन्न उपहार र निःशुल्क नगर प्रवेश पास वितरण गरी स्वागत विभिन्न देशका १८ जना पर्यटकलाई स्वागत गरेका थिए ।

पर्यटकहरुलाई दरबार क्षेत्रमा करिब ३० मिनेट लामो साँस्कृतिक कार्यक्रम देखाइएको थियो ।

सोही अवसरमा ३२९ बर्ष पुरानो ऐतिहासिक नगरा र लयाकुस्थित घण्टा पनि बजाइएको थियो ।


यसैगरी नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आज बिहान बाँसुरी बाजा र लाखे प्याखं सहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाका प्रमुख प्रजापतिको नेतृत्वमा भक्तपुरको दत्तात्रय क्षेत्रबाट सुरु भएको प्रभातफेरी ईनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, बंशगोपाल, भार्वाचो, नःपुखु, ईताछें, खौमा हुँदै दरवार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।

नगरपालिकाले भ्रमण वर्ष २०२० को अवसरमा आज बेलुकी सिद्धपोखरी र कमलपोखरीमा दीपावली गर्ने कार्यक्रम रहेको छ ।

 


प्रकाशित मितिः बुधबार, पुस १६, १६:१८