भक्तपुरः भक्तपुरमा यस वर्षको तिहारमा देउसीभैलो खेल्न रोक लागेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै यस वर्षको तिहारमा देउसीभैलो खेल्न रोक लगाएको हो ।

देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना संक्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष जिल्लामा देउसी भैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

यसपालीको तिहारमा कोहीकसैले निर्णय विपरीत देउसी भैलोको कार्यक्रम खेलेमा कानूनअनुसार कारवाही गरिने प्रजिअ पाण्डेले बताइन् ।

साथै सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै चाडपर्व मनाउन उनले आग्रह गरिन् ।


यसका साथै पटका, भुईचम्पालगायतका आतिशबाजी एवं प्रज्वलनशील पदार्थको ओसार पसार, भण्डारण, विक्रीवितरण एवं प्रयोगलाई पूर्ण रुपमा निषेध गरिएको उनले बताइन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २८ शुक्रबार, १५:२५