भक्तपुरः भक्तपुरको दूधपाटीमा सार्वजनिक यातायात चढेका एक यात्रुलाई कुटपिट गर्ने बसका सह–चालकलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

आइतबार बिहान बा ४ ख ७४१ नम्बरको बसमा यात्रुलाई कुटपिट गरेको पाइएपछि प्रहरीले सह–चालक २० वर्षीय सुदीप खड्कालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार कमलविनायकबाट रत्नपार्कका लागि चढेका यात्रु लिएर उक्त बस दूधपाटीस्थित बसपार्कमा आएको थियो । त्यहाँ गाडी रोकिने भएपछि यात्रुले किन पहिल्यै जानकारी नगराइएको भनेर प्रश्न गरेपछि विवाद भएको र ‘त्यसक्रममा सह–चालकले कुटपिट गरेका हुन् ।


कुटपिटबाट एक जना यात्रुको हातमा चोट लागेको छ । उनी भक्तपुर अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । उनैले मुलुकी अपराध संहिताको दफा ११८ मा भएको अभद्र व्यवहार सम्बन्धी कसूरमा खड्काविरुद्ध जाहेरी दिएका थिए ।

खड्काविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।


प्रकाशित मितिः २०७७ साल माघ १९ गते सोमबार, १४:१३