भक्तपुरः भक्तपुर नगरपालिका—२ इतापाकोमा आज दिउँसो सडक बत्ति जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय राम कुमार बुढाथोकी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुर नगरपालिकाले सडक बत्ति राख्ने योजना अनुसार नियमानुसार टेण्डर सकारेको टप्सन इनर्जी सानोभर्‍याङ,काठमाडौंको तर्फबाट खटिएको कामदारहरुले विद्युतको सिमेन्टको पोलमा सडक बत्तिको मेटलको पोल सहितको बत्ति जडान गर्दा पोलमै टांगिएको नाङ्गो तारमा अचानक छुन जाँदा करेन्ट लागेर एक जना सडकमा पछारिन पुगेको र अर्को व्यक्ति विजुलीको पोलमा नै अड्केको जानकारी प्राप्त हुनसाथ विजुलीको लाईन काट्न लगाई एम्बुलेन्स सहित घटनास्थलमा प्रहरी टोली पुगी दुबै घाइतेहरुलाई भक्तपुर अस्पताल पुर्‍याउँदा घाइते मध्येका बुढाथोकीलाई चिकित्सकले मृत्यू घोषणा गरेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए ।


घाइते सिन्धुलीको कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौं बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तान गम्भीर घाइते भएकाले प्राथमिक उपचार पश्‍चात थप उपचारको लागि किर्तिपुर अस्पताल काठमाडौं पठाइएको डिएसपी गिरीले बताए ।


प्रकाशित मितिः २०७७ साल पुस २१ गते मंगलबार, २०:०२