भक्तपुरः चाँगुनारायण नगरपालिका–४ छापमा शुक्रबार दिउँसो खुकुरी देखाएर घाँस काट्ने गएकी एक महिलाको सुनको गहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बन्जेमाने–३ घर भई हाल सुर्यविनायक नगरपालिका–६ बस्ने ३१ वर्षीय विशाल तामाङ र सिन्धुपाल्चोक चौतारा नगरपालिका–२ स्याउले घर भई हाल सुर्यबिनायक नगरपालिका–६ बस्ने ४८ वर्षीय मंगल तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डिएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

चाँगुनारायणस्थित चिहानडाँडा जंगलमा घाँस काट्न गएकी ४५ वर्षीया पार्वती गुरुङले कानमा लगाएको सुनको रीङ लुटपाट गरी जंगलै जंगल काठमाडौं शंखरापुरदेखि सलम्बुटार तर्फ भागेका थिए ।


लुटेराहरुलाई स्थानीयबासीहरुको सहयोगमा नाकाहरु छेकी काठमाडौंको महानगरीय प्रहरी प्रभाग साँखुले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने लुटेराहरुसँग सुनको रिङ एक जोर र खुकुरी समेत बरामद गरिएको प्रहरीले डिएसपी गिरीले बताए ।

लुटपाटका क्रममा कानमा लगाएको रीङ तान्दा गुरुङको दुबै कानको लोती च्यातिएकोले उनको स्थानीय अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको छ ।


प्रकाशित मितिः शनिबार, असार १३, २०७७, १६:०५