भक्तपुरः कोरोना भाइरस संक्रमणका कारण भक्तपुरमा अर्का एक महिलाको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका–३, गठ्ठाघरकी ६४ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

मुटुको रोगी रहेकी महिला १० दिन अघि देखि बिरामी परेको र हिजो बिहिबार उनलाई रोगले अधिक च्यापे पछि मध्यपुर नगरपालिकाको सवारी साधनको सहयोगमा नागरिक अस्पताल पुर्‍याइएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।

अस्पताल लानु अघि बेहोस अवस्थामा रहेकी महिलालाई अस्पताल पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।


मृतक महिलाको स्वाब संकलन गरि हिजो नै पठाईएको र आज बिहान मात्र रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रमुख श्रेष्ठले बताए ।

मृतकको ट्राभल हिस्ट्री नभएको र परिवारकै अन्य सदस्यबाट कोरोना सरेको हुन सक्ने नगरपालिकाका प्रमुख श्रेष्ठले बताए ।

यसैबीच, परिवारका अन्य सदस्यहरुको स्वाब परीक्षण गरिएको र परिवारलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

उनको शब ब्यवस्थापनका लागि नेपाली सेनाको वीरदल गणले तयारी गरिएको छ ।

यो सँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको संख्या ४ पुगेको छ ।


प्रकाशित मितिः शुक्रबार, भदौ १२, २०७७, १०:०९