भक्तपुरः भक्तपुर नगरपालिका अनुगमन समितिले आज महालक्ष्मी र व्यासी क्षेत्रमा रहेका पसलको अनुगमन गरेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा महालक्ष्मी र व्यासी क्षेत्रमा रहेका खाद्य, मासु पसलहरुमा बजार अनुगमन गरेको हो ।

अनुगमन समितिले महालक्ष्मी र व्यासीमा सात वटा खाद्य, मासु पसलहरुमा बजार अनुगमनमा दशैंको लागि पसल व्यवसायीहरुले लिएको सामानहरु म्याद नाघेको पाइएकोले व्यवसायीहरुलाई लेवलमा उत्पादन र म्याद नाघेको मिति हेरेर मात्र सामान लिन सुझाब दिएको छ ।

अनुगमनमा रामगोपाल माकजूको किराना पसल मिनिमार्टमा दर्ता गर्नुपर्ने, प्याकेजिङ सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवल राखेर मात्र विक्रि वितरण गर्न, पसल सरसफाई गरी व्यवस्थित गर्नु पर्ने, तराजू नापतौल विभागमा नविकरण गर्नु पर्ने र म्याद नाघेको सामानहरु ताजा ब्रोकन नुडल्स १० पाकेट, बिरयानी मसला ५ पाकेट, ट्रोपिक्यान स्लास १ वटा, सिक्स भिला पापड ६२ पाकेट जफत गरी नष्ट गरिएको छ ।


त्यस्तै, टोलीले महालक्ष्मी फुड एण्ड जुस सेन्टर तीन दिन भित्र दर्ता गर्ने, ढक तराजू नापतौल विभागमा नविकरण गर्ने र म्याद नाघेको सामानहरु रियो जुस ४८ वटा, डाइजेस्टिभ विस्कुट २ पाकेट, फर्मलाइट ओट १ पाकेट, डेटक्राउन ३ पाकेट, स्विट टमारिण्ड इम्लि २ बट्टा, कुकिज बिस्कुट २ पाकेट, ५०० मिलिलिटरको मिरिण्डा र पेप्सी ४÷४ वटा जफत गरी नष्ट गर्नुका साथै तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

इजी मल्टी स्टोर दर्ता नविकरण गर्न, म्याद नाघेको सामान मेलो जेल चकलेट २३ पाकेट, ब्रेड कम्बस चकलेट ४ पाकेट, सोरया चकलेट १ पाकेट, कफि एण्ड टि १ पाकेट, नेष्टकफि गोल्डेन ब्लेण्ड ११ पाकेट, गोल्ड चेरी ४ पाकेट, जाइफल ४ पाकेट, चिकेन सुप ५ पाकेट जफत गरी नष्ट गरि आइतवार कार्यालयमा उपस्थित हुन टोलीले निर्देशन दियो ।

अनुगमन टोलीले गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरमा लेवलमा उत्पादन र म्याद नाघेको मिति नभएको सामान विक्रि वितरण नगर्न, मुल्य सूचि राख्न निर्देशन दिएको छ भने सानुमैया शाहीको राँगोको मासु पसल दर्ता तीन दिन भित्र गर्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र पसल दर्ता गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

त्यस्तै, न्यू महालक्ष्मी कोल्ड स्टोरमा बधस्थलमा कुखुराको टाउको र खुट्टा छरपष्ट गरी भुई फालिराखेकोलाई व्यवस्थित र सरसफाई गर्न, ढक तराजू नापतौल विभागमा नविकरण गर्न, एप्रोन प्रयोग नगरी मासुको काम गरी राखेकोले सेतो एप्रोन प्रयोग गरी काम गर्न टोलीले निर्देशन दियो भने भक्तपुर फ्रेस हाउस एण्ड अण्डा सप्लायर्स दर्ता नविकरण गर्न, ढक तराजु नापतौल विभागमा नविकरण गर्न र मुल्य सूचि राख्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, १२:३७