भक्तपुरः भक्तपुर नगरपालिकाले नगरभित्र लकडाउनको समयमा पनि भिडभाड भएपछि नियन्त्रणका लागि स्वयमसेवक परिचालन गरेको छ ।

नगरभित्र लकडाउनको समयमा पनि अत्यावश्यक बाहेकमा मानिसहरु घर बाहिर निस्किएपछि नगरपालिकाले ५ सय जना स्वयम सेवक परिचालन गरि टोल टोलमा खटाएको हो । यसरी नगरभित्रका एउटा वडामा ५० जना खटाएको हो ।

स्वयम सेवकले स्थानीय भाषामा नै सम्झाइ बुझाइ गरि अत्यावश्यक स्थानीयहरुलाई नगरपालिकाले दिएको पासको आधारमा खाद्यान्न लगायतका सामाग्री किन्न पठाउने र तरकारी बजार व्यवस्थापन गराउने गरेको भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।


भक्तपुर नगर भित्र बिस्काः जात्राको समय भएकाले पनि स्थानीयहरु घर बाहिर निस्कने गरेको पाएपछि स्वयम सेवक खटाउनु परेको उनले बताए ।

यसबाहेक नगरपालिकाले स्थानीय भाषामा प्रत्येक दिन माईकिङ गरि कोरोना भाइरससम्वन्धि जनचेतना जगाउँदै घर बाहिर ननिस्कन समेत आग्रह गरिएको छ । यस बाहेक स्काउट र युवा समुह पनि नगर भित्र परिचालन गरिएको छ ।

स्थानीयहरुले पनि जागरुक भई टोल टोलमा बाँस राखेर अपरिचित व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।


प्रकाशित मितिः शुक्रबार, वैशाख ५, १८:३५