
भक्तपुरः घर छोडेर सम्पर्कबिहीन भएको ५५ वर्षपछि एक वृद्ध घर फर्केका छन् । वैदेशिक रोजगारीका सिलसिलामा भारत गएका सुर्यबिनायक नगरपालिका–८ सिपाडोलका केदार थापा ५५ वर्षपछि घर फर्केका हुन् ।
उनी वि.सं. २०२१ सालमा भारत गएका र यहि फागुन २६ गते घर फर्किएका हुन् । विवाह गरेको ७ महिनामा श्रीमती र आँखा नदेख्ने बाबु आमालाई छाडेर गुमनाम भएका थिए ।
वि.सं. १९९७ साल असार ८ गते शुक्रबार गते आफ्नो जन्ममिति भएको बताउने थापा आफ्नो दाजु गोबर्धन थापा (हाल उनको मृत्यु भइसकेको) सँग भारत हुँदै भुटानसम्म पुगेको बताउँछन् । दाजु बीचमा बिरामी भएर नेपाल फर्के भने आफू चाहिं उतै बसेको उनले बताए ।
बाल्यकालदेखि नै काम सिलसिलामा भारतमा रहे पनि बीचमा एक पटक ओखलढुंगामा आफन्तको बिहेका लागि नेपाल आएका थिए । तर उनी त्यस समय घर भने नआएको उनी बताउँछन् ।
हाल भारतको आसाममा बस्दै आएका उनले आफूसँग श्रीमती, ४ छोरा र एक छोरी भएको स्विकार गर्दै आफुले यहाँकी श्रीमतीलाई धोका दिएको र आफु पापी भएको समेत बताउन भ्याए ।
आफू अरुको लहैलहैमा लागेर भारत छिरेको बताउने उनी अहिले आफ्नो मातृभूमि सम्झेर आएको बताउँछन । उनले भने, ‘अब आफ्नो जीवनको अन्तिम अवस्थामा आफ्नो जन्मभूमि फकिएको छु, र अब म यहि बस्छु ।’
आमाबुबाको मृत्यु हुँदा समेत उनी घर आएका थिएनन् ।
विवाह भएको ७ महिना पनि नपुग्दै आफूलाई छोडेर हिडेका श्रीमान् लामो समय पछि घर फर्किएकोमा उनकी श्रीमती ६९ वर्षीया हिरा थापा भने खासै खुसी देखीनु हुन्न । उनी भन्छिन्, ‘आँखा नदेख्ने आमाबुबालाई छोडेर जान सक्नेले फर्किएर आउँछन भन्ने आफूले कल्पना समेत गरेको थिइन ।’
श्रीमान् घर आए देखि उनको आँखाबाट आँशु बगी रहेका छन् । कलिलो उमेरमा विवाह गरी छाडेर जाने गुमनाम श्रीमानलाई पर्खेर आँखा नदेख्ने दृष्टिविहिन सासु ससुराको स्याहार गरेर बसेकी उनी यतिलामो समय पछि श्रीमान् फर्किदा पनि उनी मुस्कुराउन सकिरहेकी छैनन् ।
बिहे गरेको ७ महिना मै श्रीमानले घर छाडेर बेपत्ता भएपछि केवल मनभरी सम्झना र आँखाभरी आँसु बोकेर ५५ वर्षसम्म उसैको बाटो हरेर बस्नु सामान्य कुरा थिएन । नारी महान हुन्छन् र उनीहरु जस्तोसुकै परिस्थितिको सामना गर्न सक्दछन् भन्ने हिराको यो जीवनले पनि प्रष्ट देखाउँछ ।
उनको दौतरी नाताले भाइ पर्ने अर्जुन थापाले दाजुको रुपमा रहेका सँगैका दौतरीलाई लामो समयपछि घरको आँगनमा देख्न पाउँदा खुशी लागेको र त्यो डाडाँ पाखामा खेल्दै हुर्केको विगत सम्झाए । उनले भने, ‘सानैमा साहै चन्चले हुनुहुन्थ्यो दाजु र सँगै खेल्थ्यौ र लड्थ्यो पनि तर बिहे गर्नासाथ भाग्नुभयो यत्रो वर्ष नआउँदा आशा मारेका थियौ, आउनु भयो खुसी छौं ।’
हिन्दु संस्कारअनुसार आमाबुबाको काजकिरिया आफूले थाहा पाएपछि गर्नुपर्नु भएपछि दाजु केदारलाई अहिले क्रियापुत्रीको रुपमा राखेको अर्जुनले बताए ।
आफूहरुले माया मारीसकेको परिवारको सदस्य एक्कासी लामो समय पछि फर्किँदा खुसी लागेको उनको भतिजा विश्वराम थापाले बताए । उनले भने, ‘लामो समय पछि आफ्नो जन्मस्थान र परिवार सम्झेर आउनु खुसीको कुरा हो ।’
केदारसँगै उनकाे दोस्रो श्रीमतीको जेठा सुपुत्र पनि साथमै आएका छन् । ४८ वर्ष उमेर पुगेको बताउने उनले बाबुको इच्छा नभएकै कारण अहिलेसम्म नेपाल नआएको र पछिल्लो समय विराटागर आएको समयमा पशुपति दर्शन गर्ने जाने उद्देश्यले यहाँ आएको बताए । उनले बाबुको इच्छा नेपालमै बस्ने भएका आफूहरु पनि यतै आउने बताए ।
उनको घरमा अहिले आफन्त र छरछिमेकीको भिड छ भने उनका बारेमा गाइगुईसमेत चल्न थालेका छन् । कसैले सम्पत्ती देखेर आयो, कसैले बल्ल पहिलो बुढिको माया लागेछ भन्दै अडकल काटेका छन् । जे होस् यो थापा परिवारमा एक किसिमको खुसी छाएको हामीले पायौं, जो ५५ वर्षपछि छुटिएको सम्बन्ध जोडिएको छ ।
प्रकाशित मितिः बिहीबार, फागुन २९, १०:४१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook