काठमाडौंः भक्तपुरको सूर्यविनायक नगरपालिका–८ इटबु सिपाडोलबाट चितुवाको जस्तो देखिने १ थान छाला (आखेटोपहार) सहित एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाँउपालिका–४ बलखी बस्ने ३० वर्षीय सोम बहादुर तामाङ रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

उक्त स्थानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी व्यूरोबाट खटिएको प्रहरीले सोम बहादुरलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको व्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिएका छन् ।


पक्राउ परेका उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय सानोठिमी भक्तपुरमा पठाइएको प्रहरी उपरीक्षक महतोले बताए ।


प्रकाशित मितिः २०७७ साल चैत १२ गते बिहीबार, १३:५४