बाराः अवैध रुपमा भन्सार छली ल्याउँदै गरेका भैंसी सहित एक जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

कलैया उप महानगरपालिका–६ स्थित सडकबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेका १ लाख २० हजार रुपैयाँ मूल्य बराबरको भैंसी ६ वटा सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गाडी चालक प्रसौनी गाउँपालिका–५ बस्ने सुकेश्वर राय भर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना ५ च ३२८६ नम्बरको गाडीमा भारतबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेका भैंसी सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

उक्त भैसी तथा अन्दाजी मुल्य ९ लाख पर्ने पिकअप गाडी सहित चालक सुकेश्वर समेतलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, १९:३३