काठमाडौंः चन्द्रागिरि नगरपालिका–२ नागढुंगा स्थित चेक प्वाइन्टमा सुनौलीबाट भन्सार छली गरेको लेडिज टप कपडाहरुसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छुन्ता गुरुङ र गोपी लामा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मंगलबार बिहान ११ः२० बजेको समयमा महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले नागढुंगा स्थित चेक प्वाइन्टमा सुनौलीबाट काठमाडौं आउँदै गरेको बा ५ ख १२३५ नम्वरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा लेडिज टप कपडाहरु १३५ थान सहित सोहि बसमा यात्रा गरी आएका गुरुङ र लामालाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।


उक्त कपडाहरुको मुल्य अन्दाजी रु.२ लाख ७० हजार रहेको छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय सानो गौचरण काठमाडौं पठाईएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, १०:१७