सुनसरीः भन्सार छली ल्याएका करिब ३ लाख ७१ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न सामानहरुसहित ७ मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट विभिन्न समयमा लकडाउनको निग्रानीको लागि भारत नेपाल सिमानामा गस्ति गर्ने क्रममा भन्सार छली नेपालतर्फ मोटरसाइकलहरुमा ल्याउँदै गरेका उक्त सामानहरु प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल सहित छाडेर भागे पश्चात प्रहरीले बरामद गरेको हो ।

बरामद भएका मोटरसाइकलहरुमा प्रदेश नम्बर ०१–०२–०४० प ७१८०, को २२ प ३३९१, को ५ प ४३९८, को २२ प २५८८, को ४ प ६०११, मे २ प ६३४७ र को ३ प ७८२ नम्बर गरी ७ थान रहेका छन् ।

यी मोटरसाइकलहरुमा ल्याउँदै गरेको सलाई ६ केजी, सुर्ति २ सय ५ केजी, विडी १० केजी, प्लाष्टिकको डोरी ७० केजी, प्लाष्टिकको रोल २६ केजी र दिलवाले रक्सी २२ कार्टुन समेत प्रहरीले बरामद गरेको हो ।


मोटरसाइकलसहितका उक्त सामानहरु आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, जेठ २०, १९:३७