चितवन: भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले चितवन महानगरपालिकामा सिमित समयमा थुप्रै काम भएको बताएकी छिन्। आर्थिक वर्ष २०७५–७६ को लागि योजना छनोट गर्न गणेशस्थानमा बुधबार आयोजित भरतपुर महानगरपालिका वडा नम्बर ११ को दोस्रो वडा भेलालाई सम्बोधन गर्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।

महानगर प्रमुख दाहालले योजना छनोट र विकास निर्माणका कार्यक्रममा वडावासीको भूमिका महत्वपूर्ण हुने भन्दै २९ वटै वडामा वडा भेला गरिने बताइन् । वडाको आवश्यकता र महानगरको बृहत्तर विकासका लागि रणनैतिक महत्वका योजनाहरू छनोट गरी सुझाव दिन उनले वडावासीहरुलाई आग्रह समेत गरिन् ।


। दाहालले सडक सञ्जाल, ढल निकास, तटबन्धन सहितको पूर्वाधार विकासलाई महानगरले प्राथमिकतामा राखेको समेत उनले जानकारी दिइन् ।

महानगरभित्र रहेको अव्यवस्थित बस्तीहरूको व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग परामर्श गरिरहेको बताउँदै प्रमुख दाहालले अब यो समस्याले छिट्टै निकास पाउने विश्वास व्यक्त गरिन् । महानगरको दीर्घकालीन विकास गर्न वृहत गुरूयोजना निर्माणको लागि परामर्शदाता नियुक्ति गर्दै विज्ञहरूसँग छलफल गरिरहेको समेत उनले स्पष्ट पारिन् ।

उनले चालू आर्थिक वर्षमा महानगरले पूरा समय काम गर्ने अवसर नपाए पनि सिमित समयमा थुप्रै काम गरेको बताइन्  । महानगर प्रमुख दाहालले १ सय ५० वटा सानाठूला बाटो कालोपत्रे सम्पन्न हुने प्रकृयामा रहेको र आगामी आर्थिक वर्षमा पनि सडकको स्तरोन्नति, कालोपत्रे र ढल निकास प्राथमिकतामा पर्ने बताइन् ।