चितवनः भरतपुर महानगरपालिका–५ को वडा कार्यालय भवन शिलान्यास भएको छ ।

आज महानगरपालिकाको वडा नम्बर ५ स्थित नारायणपुरमा तीनतले कार्यालय भवनको शिलान्यास भएको हो ।

भवनको शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण ब्यवसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरुलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन दिइन् ।

प्रमुख दाहालले महानगरका गौरवका आयोजनाहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, हुलाकी मार्गको स्तरोन्नति, रिङरोड, लिङ्करोड लगायतका काम धमाधम अगाडि बढिरहेको बताउँदै वडा कार्यालयहरु वडावासीकै आवश्यकता र सुझावका आधारमा निर्माण सुरु गरिएको जानकारी दिइन् ।


महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरपालिकाले ब्यवस्थित र सुविधासम्पन्न कार्यालयहरुबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तिव्रता दिएको बताए । उनले महानगरका अधिकांश वडा कार्यालयहरु निर्माण सम्पन्नको चरणमा रहेको भन्दै यो वडा कार्यालय पनि समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा प्रवक्ता अरूणपीडित भण्डारी, वडा नम्बर ६ का अध्यक्ष हरिविलास कोइराला र वडा नम्बर ४ का अध्यक्ष हरि आचार्यले समयमै भवन निर्माण गरी नयाँ भवनबाट सेवा शुभारम्भ गर्न शुभकामना दिएका थिए ।

कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष पदमपाणी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष सुवेदीले वडावासीहरुको सामुहिक प्रयासमा अत्याधुनिक वडा कार्यालयको शिलान्यास गर्न सफल भएको बताउँदै तोकिएको समय सीमाभित्र गुणस्तरीय भवन निर्माण गर्न आफू लाग्ने बताए ।

एक करोड ८७ लाखको लागतमा निर्माण हुन लागेको अन्डरग्राउन्ड पार्किङसहित ३ तलासम्म निर्माण हुने वडा कार्यालय भवनमा १० वटा कोठा रहने छन् । एक बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी कस्मिक कन्स्ट्रक्सनले जिम्मा लिएको छ । भरतपुर महानगरपालिकाले विद्यालय, वडा कार्यालय र स्वास्थ्य भवन गरी बितेको ३ बर्षमा १ सय ६६ वटा भवनहरु निर्माण गरेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १५ सोमबार, १६:१७