बैतडीः दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ ।

घटनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा सहभागी भएका थिए । तर, उनको उनको व्यवहार भने परिवर्तन भएको नजिकबाट चिन्नेहरुले बताएको प्रहरीले जनाएको छ ।


गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भागरथी स्कुल बिदा भएपछि घर नआएकी र फोन स्वीच अफ भएपछि खोजी गर्ने क्रममा माघ २२ गते दिउँसो सोही ठाउँस्थित लडालेक भन्ने लबलेक जंगल सडक छेउ भन्दा करिब ३० मिटर तल टाउकोमा चोट, घाँटीमा दबाए जस्तो डाम, खुट्टाको औंलामा निल डाम घाउ भएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उक्त घटनाको सुक्ष्म अनुसन्धानको क्रममा सोही स्कुलमा अध्ययन गर्ने भट्ट अन्तिम कक्षा नपढी साथीहरुसँग खोचलेकतर्फ गएको, साथीहरुलाई खोचलेक बजारमै छोडी आफू एक्लै खोचलेक बजारबाट चडेपानीस्थित आफ्नो घरतर्फ हिँडेको, हिड्नेक्रममा भागरथीलाई मार्ने उद्देश्यले घटनास्थल माथि रहेको सडकमा कुरी बसेको, भागरथी आई पुगेपछि सडक भन्दा तलतर्फ धकेली दिई हत्या गरेको खुल्न आएको छ ।

उनी माथि जिल्ला अदालत बैतडीबाट ५ दिन म्यद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ५ गते बुधबार, १९:५५