देहरादुन: भारतको उत्तराखण्डमा भएको यात्रुबाहक बस दुर्घटनामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ।

उत्तराखण्डको पौड़ी गढ़वाल जिल्ला स्थित धुमाकोटको क्विनबाट रामनगर जादै गरेको बस पिपली भन्ने स्थानमा दुर्घटनामा परेको उत्तराखण्ड टेलिभिजनले जनाएको छ । उक्त बसमा धेरैजसो यात्रु गर्मी बिदा मनाएर मुम्वई फर्किदै गरेका थिए ।

आइतबार बिहान पौने ९ बजे युके १२सी ०१५९ नम्बरको बस भीरबाट खसेको हो । २८ सिट रहेको बसमा ५० भन्दा बढी यात्रु रहेको समाचारमा जनाइएको छ।

उत्तरखण्डका मुख्यमंत्री त्रिवेंद्र सिंह रावतले बस दुर्घटनाप्रति गहिरो दुःख ब्यक्त गरेका छन् । उनले मृत्यु हुनेहरुमा समवेदना प्रकट गर्दै जिल्ला प्रशासनलाई तत्काल घटना स्थलमा पुग्न निर्देशन दिएका छन् ।


भारी वर्षा र क्षमता भन्दा वढी यात्रु सवार भएकोले उक्त बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।