नयाँदिल्लीः नयाँदिल्लीको बाह्रखम्बास्थित नेपाली दूतावासमा शनिबार अपराह्न भेटिएकी ४० वर्षीया रीता नाम (परिवर्तन) राम्ररी बोल्न सक्ने अवस्थामा थिइनन्। शरीर थकित देखिन्थ्यो। नेपालगन्जकी उनी रुँदै एउटै वाक्य दोहोर्‍याइरहेकी थिइन्, ‘मलाई चाँडै घर पठाइदिनुस्।’

तीन महिनाअघि कुवेत पुगेकी उनी मालिकको अमानवीय व्यवहार र एजेन्टको यातना सहन नसकेर फर्किएकी हुन्। दूतावासमा ‘अस्थायी सेल्टर’ नभएका कारण उनलाई दिल्ली महिला आयोग र केआई नेपालका प्रतिनिधिको जिम्मा लगाइएको छ।

‘खान पनि दिएनन्, मलाई निकै पिटे,’ उनी सुनाइरहेकी थिइन्। रीताले बेहोरेको यातना र पीडाको कथा करिब तीन महिनाअघि प्रारम्भ हुन्छ।


। गाउँकै शीला दिदीले राम्रो कमाइ हुन्छ भनेपछि उनैको खर्चमा पासपोर्ट बनाएर गाउँकै एजेन्टसँग रुपैडिहा नाका हुँदै दिल्ली पुगिन्।

दिल्लीमा एउटा घरमा राखियो। उनीसँगै अरू चार नेपाली महिला पनि थिए। ‘उहाँहरू कहाँ जानुभयो, मलाई थाहा भएन,’ उनले बताइन्। एक साता दिल्ली बसेपछि शारजहाँको रुट हुँदै उनलाई कुवेत उडाइयो। कुवेत पुगेको केही दिनमै उनको नारकीय जीवन सुरु भयो।

झट्ट हेर्दा घरमालिकको व्यवहार राम्रै थियो। कपडा धुने, भुईं पुछ्ने, भाँडा माझ्नेलगायत काम गर्नुपथ्र्यो। उठेदेखि राति सुत्ने बेलासम्म भ्याइनभ्याई हुन्थ्यो। काम गर्न खासै गाह्रो भएन। केही दिनमै मालिकको व्यवहार फेरिन थाल्यो। उनलाई नियमित खान दिइएन। विभिन्न बहानामा कुटपिट सुरु भयो।

डेढ महिनासम्म यस्तै व्यवहार सहेपछि उनी घरमालिक नभएको मौका छोपेर त्यहाँबाट भागिन्। यसैबीच उनले कमाइका नाममा हात परेको ४० हजार रुपैयाँ घर पठाएकी थिइन्। उनलाई कुवेतमा राम्रो कमाइ हुन्छ भनिएको थियो तर महिनाको तलब र सेवासुविधासम्बन्धी सम्झौता भएको थिएन। भागेपछि पनि उनका पीडा र कष्ट सकिएनन्, बरु थपिँदै गए। सुरुमा काम लगाइदिएका स्थानीय एजेन्ट उनलाई खोज्दै आइपुगे र फकाएर अर्को घरमा पुर्‍याए।

‘पहिलेको जस्तो दुस्ख हुँदैन, राम्ररी काम गर्नू,’ उनीहरूले आश्वस्त पारे। उनका सामु कुनै विकल्प थिएन। नयाँ घरमा काम गर्न थालिन्। तर, त्यहाँ पनि रीतालाई सहज भएन।

जेनतेन गरेर पैसा कमाउने र तीन सन्तानको भविष्य उज्ज्वल बनाउने उनको सपनाको महल हेर्दाहेर्दै भत्किसकेको थियो। त्यसैले उनले नेपाल फर्कने निधो गरिन्। नेपाल फर्कन्छु भनेपछि शारीरिक यातनाको शृंखला सुरु भयो।
जसले काम लगाएको थियो, उसका बूढाबूढी नै मिलेर कुट्न थाले,’ उनले सुनाइन्, यस्तो राम्रो कमाइ हुँदाहुँदै तेरो बुद्धि ब्रिगेको भनेर यातना दिए।’

यसैबीच उनका जेठा छोराले पनि गाउँकी शीला दिदी’ लाई आफ्नी आमालाई फिर्ता बोलाउन धम्की दिएछन्। आफूहरू अप्ठ्यारामा पर्ने देखेर नचाहँदा नचाहँदै एजेन्टले नै टिकट काटेर पठाइदिएको उनले बताइन्। ‘अब जसरी पनि नेपाल जान्छु, भुलेर नि विदेश जाने सोच्दिनँ,’ उनले भनिन्।

वैदेशिक रोजगारी क्षेत्रमा रहेको मानव तस्करीको जालोमा फस्दै आएका नेपाली युवायुवतीमध्येकी हुन् रीता। उनले पछिल्लो तीन महिना खेपेको पीडा र यातनाले नेपालका गाउँदेखि खाडीसम्म फैलिएको मानव तस्करीको जालो कुन तहसम्म छ भन्ने देखाउँछ।

सरकारले खाडी मुलुकमा घरेलु कामदार लैजान २०७२ जेठमै प्रतिबन्ध लगाए पनि मानव तस्करकै सेटिङमा ती देशमा महिला पुगिरहेका छन्। वैदेशिक रोजगार विभागदेखि दिल्ली एयरपोर्टसम्म ‘सेटिङ’ मिलाएर घरेलु कामदारका रूपमा महिलालाई खाडी पठाउने क्रम रोकिएको छैन।

सरकारले रोक लगाएपछि भारतीय बाटो हुँदै नेपालीलाई खाडी मुलुक पठाउने गरिएको थियो। भारतीय विमानस्थलबाट जाने क्रम बढेसँगै सरकारले नेपाली दूतावासबाट जारी भएको नो अब्जेक्सन सर्टिफिकेट एनओसी’ अनिवार्य गर्‍यो।

उक्त निर्णय कार्यान्वयनमा आएपछि अनधिकृत रूपमा भारत हुँदै वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको थियो। तर, दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट कुवेत उडेकी रीताको सन्दर्भमा भने विमानस्थल अधिकारीको समेत लापरबाही देखिन्छ।

उनको राहदानीमा घरेलु कामदारको नक्कली श्रमस्वीकृतिको स्टिकरसमेत टाँसिएको छ। तर, पछिल्लो समय ‘भिजिट भिसा’ लाई माध्यम बनाएर भारत हुँदै वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ।

भिजिट भिसामा जानेलाई भारतीय विमानस्थल अथोरिटीले एनओसी खोज्दैन । त्यसैको फाइदा उठाउँदै मानव तस्करले रीतालाई कुवेत पुर्‍याएका थिए।कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।