वीरगन्जः भारतबाट अवैधरुपमा नेपाल भित्रयाइएको भारतीय नोटसहित दुईजनालाई वीरगन्जको रजत जयन्ती चोकबाट प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्रेको हो ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–६ स्थायी घर भइ हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा बस्दै आएका ३० वर्षीय चित्तरन्जन प्रसाद र  भारत बिहारको मोतिहारीका १८ वर्षीय रोहित कुमार केशरी रहेका छन् । चित्त रन्जनको साथबाट भारु दुई हजारको नोट एक हजार तीन सय ९० थान ( २७ लाख ८० हजार भारु ) र रोहीतको साथबाट भारु दुई हजारको नोट दुई सय थान ( चार लाख भारु ) बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।


ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगन्ज आउँदै गरेका दुवैलाई  मंगलबार बेलुको रजतजयन्ती चोकमा चेकजाँच गर्दा उक्त रकम बरामद भएको हो । बरामद भारुको श्रोत बताउन नसकेपछि दुवैलाई नियन्त्रणा लिइएको हो ।

उनीहरुलाई कारवाहीका लागि राजश्व अनुसन्धन विभाग हरिहर भवन पठाइएको छ । नेपाल राष्ट्र बैंकले भारु नोट वितरणमा कडाइ गरेपछि वीरगन्जका मनी चेन्जरहरुले रक्सौलबाट गैरकानुनी रुपमा भारु नोट ल्याएर कारोबार गर्न थालेको प्रहरी श्रोतले जनाएको छ ।