नयाँ दिल्ली: भारतका विभिन्न ठाँउमा अत्यधिक वर्षाका कारण भएका विगत दुई दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । भारतको दक्षिणी राज्य केरलामा मात्रै  १६ जनाको  मृत्यु भएको हो ।

राज्यका एक मन्त्री इ चन्द्रशेखरनले प्रदेश सभामा गरेको सम्बोधनमा  “भारी बर्षाका कारण गत दुई दिनमा यस राज्यका विभिन्न ठाँउमा भएका घटनाहरूमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ”  बताएका छन् ।

उनले  आंशिक र पूर्ण गरी कुल १२ सय भन्दा बढी घरहरूमा क्षति पुगेको पनि जानकारी दिए ।  घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई चार लाख रुपैँया राहत रकम उपलब्ध गराउने घोषणा पनि मन्त्रीले गरे ।  भारी वर्षाबाट प्रभावित र पीडित हुनेमा केरलासहित केही अन्य राज्य पनि पीडित भएका छन् ।


भारतको उत्तर प्रदेशमा बर्षाका कारण भएका घटनाहरूमा परी कुल २६ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी छिमेकी राज्य विहारमा पनि गत हप्ता २७ जनाको मृत्यु भएको बताइएको छ ।  भारतका पाँच प्रदेशमा गरी कुल २५० भन्दा बढीको मृत्यु गत महिनाको वर्षा र बाढी पहिरोका कारण भएको थियो । घटनामा परी अरु ४०० जना घाइते भएका थिए ।