नयाँ दिल्लीः भारतमा गएको २४ घण्टायता परेको चट्याङ्ममा परी कम्तिमा ४७ जनाको मृत्यु भएको छ ।

विगत २४ घण्टायता चट्याङ्सँगै भारी वर्षा भएपछि ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ भने बाढीका कारण कैयौँ खेतीयोग्य जमिन र नदी किनारामा रहेका वस्तीहरू प्रभावित बनेका छन् ।

पूर्वी भारतीय राज्य बिहारमा वर्षा र मेघगर्जनसहित चट्याङ पर्दा कम्तिमा १९ जनाको मृत्यु भएको र मृतक मध्ये ११ जनाको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ ।

त्यसैगरी भारतको घना जनसङ्ख्या रहेको उत्तर प्रदेशमा ७० किलोमिटर प्रतिघण्टाको रफ्तारले आएको हुरी र वर्षाका कारण १५ जनाको मृत्यु भएको हो । उक्त प्राकृतिक विपद्का कारण कम्तिमा १० जना घाइते भएको पनि जनाइएको छ ।


भारतकै अर्को प्रदेश झारखण्डमा १३ पनि विपद्का कारण केही व्यक्तिको ज्यान गुमेको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन् ।

भारतीय ग्रामिण भेकका नागरिकहरू वर्षा ऋतुमा हुने गर्मीबाट राहत पाउनका लागि घरघरको पिंडी र आँगनमासमेत रात बिताउने गर्छन् ।

माझीहरुलाई यस इलाकाको सामुद्रीक क्षेत्रमा नजानसमेत सरकारी निकायले सूचना जारी गरेका पनि समाचारमा बताइएको छ ।