भक्तपुरः भक्तपुर नगरपालिका–२ स्थित ईटापाकोमा दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने भारत उत्तर प्रदेशका ३५ वर्षीय शाहिव हुसैनको उनी सँगै काम गर्ने साथीहरुले हत्या गरेका छन् ।

उनको शव हत्या गरि नरकटको झारीमा फालिएको अवस्थामा टाउकोमा छेडविछेड हुनेगरि चोट लागेको अवस्थामा प्रहरीले आज बिहान नरकटको झारीमा फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

हिजो साँझ सबै बसेर मादक पर्दाथ सेवन गरेका उनीहरुबीच केटीको विषयलाई लिएर विवाद हुँदा हुसैनलाई ढुंगाले अनुहार र टाउकोमा हिर्काएर हत्या गरेको परिसरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए ।


उनको हत्या गरेको अभियोगमा उनी सँगै कारखानामा काम गर्ने उनकै साथीहरु २३ वर्षीय सलमान खान र १९ बर्षीय सानु अन्सरीलाई पक्राउ गरिएको डिएसपी गिरीले बताए ।

हुसैनको हत्याको आंशकामा प्रहरीले उनका साथीहरुको कोठामा खानतलासी गर्दा रगत लागेको लुगा र जुत्ता फेला पारेका छन् ।

हुसैनको हत्याको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

घटनास्थलको फोटो


प्रकाशित मितिः २०७७ साल कार्तिक ९ आइतबार, १८:०१