काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा चार घेरामा गरिने भएको छ। भारतीय विशेष कमान्डो टोली, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको चारघेरे सुरक्षा व्यवस्था मिलाइएको हो।

पहिलो घेरामा भारतीय सुरक्षाको विशेष कमान्डो टोली र निजी अंगरक्षक, दोस्रो घेरामा नेपाली सेना र नेपाल प्रहरीको विशेष युनिट, तेस्रो घेरामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा सबभन्दा बाहिरी घेरामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर परिचालन गरिनेछ।

मोदीको सुरक्षाका निम्ति भारतबाट मात्रै विशेष कमान्डो टोलीका ८६ जना नेपाल आएका छन्।


। तीमध्ये १५ जना मुस्ताङ भ्रमणको सुरक्षामा खटिनेछन् भने २५ जना जनकपुर र अन्य काठमाडौंमा खटिनेछन्। विशेष कमान्डो टोलीसँग नेपाली सेना र नेपाल प्रहरीले समन्वय गर्नेछन्। मोदीको सवारीमा भारतबाटै ल्याइएका दुईवटा बुलेटप्रुफ गाडी प्रयोग गरिनेछ।

स्रोतका अनुसार जनकपुरमा मात्रै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाबाट गरी करिब ५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् भने राष्ट्रिय अनुसन्धान विभागबाट ५० जनाभन्दा बढी गुप्तचर खटिनेछन्। नेपाल प्रहरीले जनकपुरमा ३३ सय जनशक्ति सुरक्षाका निम्ति खटाउँदै थप मद्दतका लागि प्रहरीलाई स्ट्यान्डबाई राख्ने भएको छ। स्रोतका अनुसार जनकपुर भ्रमणभरि नेपाली सेनाको हेलिकप्टरले रेकी उडान गर्नेछ।

काठमाडौंमा महानगरीय अपराध महाशाखाले सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्नेछ। महाशाखा स्रोतका अनुसार भ्रमण क्षेत्रको सबै चोकमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीको सुरक्षा समन्वयको पाटो भने महानगरीय प्रहरी कार्यालयले गर्नेछ। स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयका उच्च अधिकारी सुरक्षा व्यवस्थापनमा प्रत्यक्ष खटिनेछन्।

मोदीको सुरक्षाका निम्ति नेपाल प्रहरीले काठमाडौंमा दुई र जनकपुरमा एउटा जामर प्रयोग गर्नेछ। जामरले भारतीय प्रधानमन्त्री रहने स्थानको पाँच सय मिटरसम्म मोबाइल फ्रिक्वेन्सी नियन्त्रण गर्छ। प्रहरीले भ्रमणस्थलको सुरक्षाका निम्ति र्‍यापिड कम्युनिकेसन सिस्टम प्रयोगमा ल्याउने भएको छ।

यसले कार्यक्रमस्थलको भिडियो रियल टाइममा खिचेर एकीकृत कमान्ड सेन्टरमा पठाउँछ। मोबाइलभन्दा ठूलो आकारमा रहने क्यामेराजडित यस्तो उपकरण जनकपुरमा मात्रै ५० वटा प्रयोग गरिनेछ। पचास फरक–फरक स्थानबाट एकैचोटि लाइभ भिडियो कमान्ड सेन्टरमा पुग्ने र त्यो भिडियो अवलोकन गरेर थप निर्देशन दिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

जनकपुर र काठमाडौं दुवै स्थानमा चल्ने गाडीको लाइसेन्स नम्बर स्क्यानिङ गर्न सक्ने उपकरणसमेत प्रयोग गरिनेछ। काठमाडौंमा मोदी बस्ने चुच्चेपाटीको हायात होटल र भेटघाटस्थलको रूपमा रहने बत्तीसपुतलीको होटल द्वारिकाजमा भेहिकल स्क्यानर मेसिन राख्न लागिएको हो।

सुरक्षा व्यवस्थालाई थप चुस्त पार्न प्रहरीले जनकपुरमा डिजिटल वाकीटाकी प्रयोगमा ल्याउने भएको छ। प्रहरीले प्रयोग गरिरहेको वाकीटकी एनालग सिस्टममा छ भने मोदीको सुरक्षामा प्रयोग गरिने वाकीटाकी डिजिटल सिस्टममा आधारित हुनेछ। जसले सुरक्षाकर्मीबीचको कुराकानी इन्कोडेड गरेर राख्छ।

त्यस्तै जनकपुरको कार्यक्रम स्थलमा दस र काठमाडौंमा दसवटा ‘डिजिटल वाक थ्रु गेट’ रहनेछन्। प्रहरीले सुरक्षाका निम्ति एक सयभन्दा धेरै मेटल डिटेक्टरसमेत प्रयोग गर्नेछ।

जनकपुरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकीकृत कमान्ड केन्द्र रहनेछ। जहाँ बसेर उच्च सुरक्षा अधिकारीहरूले सुरक्षा प्रणालीको समन्वय र निर्देशन गर्नेछन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार एकीकृत रूपमा सुरक्षामा कुनै कमी–कमजोरी नआउने गरी भीभीआईपीको सुरक्षा व्यवस्था मिलाइएको छ।

जनकपुर, मुक्तिनाथ, काठमाडौंसहित तीनै ठाउँको सुरक्षालाई नेपाली सेनाको फरक–फरक एकीकृत सुरक्षा सेलले समन्वय गर्नेछन्। उनले भने, ‘सुरक्षामा कुनै सम्झौता गरिएको छैन। कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।