—भेषराज पाखरेल 

नेपाल भारत र चीनबीचको महत्वपूर्ण क्षेत्र हो । भारत र चीन आर्थिक रुपमा सम्पन्न राष्ट्र बन्ने योजनामा छन् । नेपालले पनि यी दुवै उदीयमान छिमेकी राष्ट्रको प्रगतिबाट फाइदा लिन सक्नुपर्छ भन्ने सल्लाह दिने गरिंदै आएको छ । छिमेकी भए पनि चीन र भारतबीच लामो समयसम्म राम्रो सम्बन्ध रहेन तर केही समययता यी दुई देशबीच सम्बन्ध सुधार हुँदै आएको छ । यी दुवै शक्ति राष्ट्रको सम्बन्ध आपसी व्यापरमा केन्द्रित हुँदै गएको छ । अहिले यी दुई नजिकका छिमेकीबीचको व्यापारमा पनि सुधार हुँदै आएको छ । अबको भविष्यमा यी दुई देशबीचको व्यापार अहिलेभन्दा धेरै गुणा माथि पुग्ने अनुमान गरिएको छ भने यी दुवै राष्ट्रले यतातर्फ अभियानै थालेका छन् ।


। यी दुवै राष्ट्रले एसियालाई आर्थिक केन्द्रका रुपमा स्थापित गर्ने योजना अनुसार काम गरिरहेका छन् ।

केही समय पहिले दोक्लाममा भएको असमझदारी हटेपछि भारत र चीनबीच सम्बन्ध सुमधुर हुँदै गएको छ । भर्खरै भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी चीन भ्रमणका क्रममा दुई देश मिलेर अघि बढ्ने समझदारी भएको छ ।

नेपालले यी आर्थिक शक्तिका रुपमा रहेका छिमेकी राष्ट्रबाट कस्तो लाभ लिन सक्ला ? अहिले नेपालको अवस्था कस्तो छ ? यी कुरा अहिले अति महत्वपूर्ण छन् ।

नेपाल–भारतबीचको व्यापार

नेपाल र भारत लामो सीमा जोडिएका छिमेकी राष्ट्र हुन् । नेपाल र भारतको धर्म, संस्कार, संस्कृति सबै एकै खालको भएकाले तथा सधै दुई देशबीच सुमधुर सम्बन्ध रहेकाले यी दुई देशबीच खुला सीमा छ । अर्को, व्यापारको अवस्थालाई हेर्ने हो भने पनि नेपाल–भारतबीच महत्वपूर्ण व्यापार हुने गरेको छ । नेपालले भारतसँग व्यापार गर्छ तर भाततर्फ हुने निर्यातभन्दा भारतबाट हुने आयात धेरै गुणा माथि छ । नेपालले उद्योगको विकास गर्न सकेको छैन भने परम्परगत सीप पनि ध्वस्त हुँदै गएको छ । अर्को, नेपाल पहिलेदखि कृषिमा आत्मनिर्भर हुँदै आएकोमा पछिल्लो समय नेपालको कृषि उत्पादन लगातार घट्दै गएको छ । यसले गर्दा नेपालमा भारतबाट मेसिनरी, सवारी साधन, इन्धनदेखि खाद्यपदार्थ समेत आयात भइरहेको छ ।

नेपालले भारतमा बेच्ने सामग्री भने अति सानो छ । अहिले नेपालले भारतसँग ठूलो व्यापार घाटा व्यहोरिरहेको छ ।  नेपालले भारतसँग ७ खर्बभन्दा बढीको व्यापार घाटा व्यहोर्नुपर्ने अवस्था छ । भारतले नेपालले निर्यात गर्ने सामग्रीमा भन्सार सुविधा त दिएको छ तर ती साम्रग्री नेपालमा पर्याप्त मात्रामा उत्पादन हुँदैनन् ।

भारतीय मेसिनरी, पेट्रोलियम पदार्थदेखि अन्य विविध खाद्यपदार्थ पनि नेपालमा भित्रिरहेका छन् । कृषि उपजमा नेपालले शून्य भन्सार सुविधा दिएको छ । भारतले पनि नेपालका कृषि उपजलाई त्यस्तै सुविधा त दिएको बताएको छ तर क्वारेन्टाइन चेकका अनेकौं अप्ठ्यारा र भारतका प्रदेश अनुसार विभिन्न अवरोधले गर्दा नेपालको कृषि उपज भारततर्फ सरलसँग जान सकेको छैन । अदुवामा नेपालले भारतको बजारमा अनेकौं अवरोध व्यहोरिरहेको छ । त्यस्तै स्थिति अलैंचीमा छ । चियामा पनि नेपालले अवरोध व्यहोर्नु परिरहेको छ । नेपाली निर्यातकर्ताले सहज रुपमा भारतीय बजार उपयोग गर्न सकेका छैनन् ।

औद्योगिक उत्पादनमा पनि नेपालले विविध अवरोध व्यहोरिरेहेको छ । केही वर्ष पहिले भारतमा आकर्षकको रुपमा रहेको नेपालको वनस्पति घिउ भारतका विभिन्न अवरोधले निर्यात हुन सकेको छैन । यसले गर्दा नेपालका घिउ उद्योग बन्द भए । अहिले नेपालबाट तयारी स्टिल छडहरू भारततिर निर्यात हुन्छन् तर त्यसमा पनि नेपालका व्यापारीहरूले अवरोध व्यहोरिरहेका छन् । सिमेन्टमा पनि त्यस्तै छ । तयारी कपडा उद्योग पनि निर्यातको अवरोधले कमजोर अवस्थामा पुगेको छ । नेपाल–भारतबीच भइरहेको व्यापारमा भएका अवरोध हटाउन गम्भीर रुपमा लिनु आवश्यक देखिएको छ । भारतले नेपालप्रति सद्भाव राखेर मात्र अब पुग्ने अवस्था छैन व्यापारलाई सहज बनाउनु आवश्यक छ । भारततर्फ व्यापार सहज हुन सकेन भने नेपालले एकतर्फी व्यापारको भार व्याहोरिरहने निश्चित छ । यस्तो अवस्थामा नेपालको आर्थिक अवस्था उठ्न ज्यादै कठिन हुनेछ ।

नेपाल–चीन व्यापार

चीनतिरको व्यापार भारतसँगको जस्तो ठूलो त छैन तर पनि लगातार बढिरहेको छ । नेपालका लागि चीनले पनि धेरै ठूलो संख्याका सामग्री चीन निर्यात गर्न शून्य भन्सार सुविधा दिएको छ तर वास्तविकता अचम्मको छ । नेपालले शून्य भन्सार सुविधा पाएका सामग्री ठूलो मात्रामा निर्यात गर्नै सक्दैन । त्यसले चीनसँगको व्यापार घाटा कम गर्न ती सामग्रीको कुनै भूमिका रहेको छैन । नेपालले चीनसँगको व्यापारमा पनि ठूलो व्यापर घाटा व्यहोर्न थालेको छ । अहिले चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका सीमा क्षेत्रका नेपाली भूमिमा तरकारी, आलु तथा फलफूल चीनमा निर्यात गर्न सहज छैन । चीनमा क्वारेनटाइन समस्यादेखि अनेकौं अवरोध व्यहोर्नु परेको छ । अर्थात् नेपालको व्यापारको ढोका बन्दजस्तै छ । नेपालको सीमा क्षेत्रमा उत्पादन भएका कृषि सामग्री सुलभ रुपमा चीनमा निर्यात गर्न सक्ने हो भने नेपालको त्यो क्षेत्रको आर्थिक स्तर धेरै माथि उठ्न सक्छ । नेपालले चीनसँग विकासका योजना माग्नुको सट्टा सीमा व्यापारलाई सुलभ बनाउन आग्रह गर्न सके र चीनलाई सहमत गराउन सके नेपालले धेरै लाभ लिन सक्छ ।

अहिले नेपालमा भारततिरबाट काठमाडौंसम्म रेल ल्याउने सम्झौता प्रधानमन्त्रीको भ्रमणमा भएको बताइएको छ । अर्को, चीनले पनि रसुवागढीबाट काठमाडौंसम्म रेल ल्याउन सहयोग गर्ने सहमति भएको बताइएको छ । यस्तो अवस्थामा नेपाल भारत र चीनबीच व्यापारिक पुलका रुपमा काम गर्न सक्छ, त्रि–देशीय व्यापार सहजकर्ता बन्न सक्छ भनिंदै छ । सामान्यतया यसलाई त्यही रुपमा बुझ्न त सकिन्छ तर नेपालले प्रविधि र स्रोतसाधन सम्पन्न छिमेकीको आक्रामक व्यापार रणनीतिलाई चिरेर व्यवस्थित गर्ने र आफूले पनि फाइदा लिने अवस्थामा पुग्न ज्यादै कठिन छ । अहिलेकै अवस्थामा नेपालले गफ गर्न सक्छ, अन्य विदेशी कूटनीतिज्ञका सुझाव लिन सक्छ तर नेपालले केही पनि फाइदा लिन सक्ने अवस्था छैन । दुवै देशबाट अत्याधुनिक प्रविधि र पूर्वाधारसम्पन्न सस्तो उत्पादनसामु नेपालको व्यापार टिक्न सक्दैन । रेल सेवाले छिमेकीका सामानको ओइरो लाग्न सक्छ, त्यसको साटो नेपालले आफ्नो उत्पादन पठाउन सकेन भने नेपालको अर्थतन्त्र पूर्ण रुपमा आयातमा निर्भर हुनेछ । यसले नेपाल अझ कमजोर बन्न पनि सक्छ ।

नेपालमा वान रोड वान बेल्ट अन्तर्गतका आयोजना चीनले निर्माण गरिदिन सक्छ, रेल निर्माण गरिदिन सक्छ त्यस्तै भारतले पनि पूर्वाधार निर्माणका विविध क्षेत्रमा सहयोग गर्न सक्छ । योभन्दा धेरै कठिन छ नेपालले भारत र चीनको आक्रामक व्यापार रणनीतिभित्र छिरेर आफ्नो व्यापारलाई गति दिन । अहिलेसम्मको अवस्थालाई हेर्दा नेपालले अरुले गरिदेओस् भन्ने त छ नै आफै विभिन्न स्तरमा कुनै पनि तयारी गर्न सकेको छैन । सामान्य कृषि उपजको व्यापारलाई सहज बनाउन नसक्ने राष्ट्रले व्यापारका अन्य यावत् जटिल क्षेत्रलाई व्यवस्थित गर्न ज्यादै कठिन छ ।