कञ्चनपुर : तनहुँको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया शर्मिला परियारलाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको गरेको छ ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै दुबई जान लागेका उनिहरुलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहाँ तैनाथ थ्री एन्जल्स नेपालका कर्मचारीले उद्धार गरेका हुन।

दुवैजना काठमाडौँदेखि दिल्ली चल्ने पर्यटक बसमा भारततर्फ जाँदै गर्दा चेकजाँचका क्रममा गड्डाचौकीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ

दुवैजना राहदानी सहित भारत तर्फ हिडेकाले अभिभावकलाई समेत झुक्याएर भारतीय एजेण्टमार्फत दुबई जान लागको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।


। दुवैजनाले दिल्ली हुँदै दुबई जान लागेको स्वीकार पनि गरेका छन ।

उद्धार गरिएकी गीता यसअघि दुई वर्ष दुबईमा रोजगारीका लागि गइसकेकी महिला हुन् भने शर्मिलाले पनि आफूले साउदी अरब र दुबई गरी छ वर्ष वैदेशिक रोजगारीमा बिताइसकेको बताइन् ।

काठमाडौँमा श्रमको लफडा छ भनेपछि दुबईबाट भारतीय एजेण्टले दिल्ली हुँदै आउन भनेपछि यो बाटो हिँडेको उनिहरुको भनाइ छ । भारतीय नागरिक मोहमद इक्वालले हामीलाई दुबई बोलाउन लागेको हो ।

उनीहरुका अनुसार भारतीय नागरिक इक्वाल दुबईमा स्कूल सञ्चालक हुन् ।प्रहरीले दुवैजनाका आफन्तसित सम्पर्क गराइसकेकाले परिवारका सदस्य आएपछि जिम्मा लगाउने जनाएको छ ।

पर्यटक बसलाई चेकजाँचका क्रममा शंका लागेपछि अनुसन्धान गर्दा दलालमार्फत वैदेशिक रोजगारीमा जान लागेकाले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

त्यसैगरी, मंगलबार नै माइती नेपाल, कञ्चनपुरले दोधारा चादँनी झोलुंगे पुल हुँदै भारत जान लागेकी एक युवतीको उद्धार गरेको छ । झोलुंगे पुल हेर्ने बहानामा महाकाली नगरपालिका हुँदै भारत जान लागेकी सुर्खेतकी १९ वर्षीया युवतीलाई उद्धार गरिएको हो ।

उनलाई भारत लैजान लागेका बर्दियाको गुलरियाका २२ वर्षीय पुष्कर बैलकोटी र २४ वर्षीय प्रकाश बैलकोटीलाई समेत नियन्त्रणमा लिइएको छ । पक्राउपछि युवकद्वयलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ भने युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।