काठमाडौंः सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गत सोमबार भएको ‘भिडियो कन्फरेन्सिङ बैठक’ सामान्य हाईहेल्लो मात्र भएको र त्यसलाई आफूहरुले ‘क्याबिनेट बैठक’ नभनेको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरुसँग गरेको भिडियो कन्फ्रेन्समा ‘हाई हेल्लो’ मात्रै गरिएको तर मन्त्रिपरिषद्को बैठक नै चाहिँ नबसेको स्पष्ट पारेका हुन् ।

उहाँले भने, ‘त्यो कानुनी छ किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादनसम्बन्धी विषयमा भिडियो कन्फ्रेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ ।


। तर हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौं एजेण्डा पनि त्यहाँ कुनै थिएन र पास गरिएन । हामी अरु कुराहरुमा पनि यसलाई पहिलो प्रयास हो, अभ्यास हो, हामी टेक्नोलोजीमा गर्न सक्छौं भन्ने प्रमाणित भयो भनेका छौं ।’

साथै उनले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी लिखितरुपमै दिइसकेको अवस्थामा प्रधानमन्त्री सिंगापुरबाट नफर्केसम्म मन्त्रिपरिषदको बैठक पोखरेलकै अध्यक्षतामा बस्नुपर्ने समेत बताए।

तर, प्रधानमन्त्री ओलीलाई पत्याउने हो भने त्यो सामान्य ‘हाईहेल्लो’ मात्र थिएन । उनले बैठकपछि समाजिक संजाल ट्विटर मार्फत ट्विट गर्दै पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्न सकियो भन्दै सबैलाई धन्यवाद् व्यक्त गरेका थिए ।

उनले लेखेका थिए, ‘प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद ! प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद।’

प्रधानमन्त्रीले मात्र होइन उनका राजनीति सल्लाहकारले समेत कन्फरेन्सिङ मार्फत बैठक बस्न लागेको जानकारी गराएका थिए ।

उनले पनि सामाजिक संजालमै लेखेका थिए, ‘सिंगापुरदेखि काठमाडौंः पहिलो पटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषद्को बैठक बस्दै ।’


प्रकाशित मितिः बिहीबार, भदौ १२, १७:२१