बाजुराः गरिबीका कारण सुत्करी आमा र बच्चाको स्याहार हुन नसकेको अवस्थामा सरकारले पोषणका लागि सहयोग गरेको त सुनिएको थियो । किसानले भैंसी व्याइसकेपछि उचित स्याहार र दानापानी दिन बेवास्ता गर्ने हुँदा त्यसलाई रोक्न र दूध उत्पादनमा वृद्धि गरी किसानको आयस्तर बढाउन बाजुराको एक स्थानीय निकायले व्याउने भैंसीलाई पनि सुत्केरी भत्ता दिने निर्णय गरेको छ ।

बाजुराको बडिमालिका गाउँपालिकाले किसानलाई भैंसी पालनतर्फ आकर्षित गर्न व्याउने भैंसीलाई पोषण भत्ता दिने भएको हो। आइतबार बसेको पालिका बोर्डको बैठकले व्याउने भैंसी भएका किसानलाई वितरण गर्न ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।


यहाँका किसानले भैंसीलाई घाँसबाहेक अन्य पोषणयुक्त आहारमा ध्यान नदिने हुँदा भैसीको दूध उत्पादन कम हुने र भैंसीको स्वास्थ्य पनि राम्रो नहुने हुँदा पालिकाले किसानलाई स्वस्थ भैंसीपालनतर्फ प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको त्यहाँका पशुसेवा शाखा प्रमुखले बताएका छन् ।
पालिकाले उन्नत जातका गाई–भैंसी भित्र्याउने किसानलाई अनुदानस्वरूप २० हजारका दरले ढुवानी खर्च दिने पनि निर्णय गरेको छ।