भोजपुरः षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ भने अर्की एक जना गम्भीर घाइते भएकी छिन् ।

हत्या हुनेमा षडानन्द नगरपालिका–३ बस्ने २८ वर्षीया कल्पना राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्किदै गरेकी कल्पनाको शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

यस्तै, धारिलो हतियारबाट १८ वर्षीया नवीना राई घाइते भएकी छन् ।

मृतक कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ ।


घटनामा संग्लग्न भएको आशंकामा प्रहरीले षडानन्द नगरपालिका– ३ का २१ वर्षीय प्रदीप बस्नेतलाई आज बिहान पक्राउ गरेको छ ।

घटनाको विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, कार्तिक ३, १२:१६