काठमाडौंः कोरोना संक्रमण बढ्दो अवस्थालाई मध्यनजर गरेर काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

आज बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा भोलिबाट एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको बताउँदै आगामी दिनमा कोरोनाको संक्रमणको दर हेरेर निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।


नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचय पत्र, राहदानी विवरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता लगायतका सेवा भोलिबाट बन्द रहने छन् ।

बैठकले बढी भिडभाड हुने कार्यालयलाई पनि साप्ताहिक रुपमा सेवा प्रवाहको कार्यतालिका बनाई आलोपालो विधिबाट सेवा दिन आग्रह गर्ने निर्णय गरेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १२ गते आइतबार, १७:५६