काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्दछ । उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि यस वर्ष मुद्दा चलेका छन् । भ्रष्टाचार विरुद्धको हाम्रो शून्य सहनशीलतालाई यसले प्रमाणित गर्दछ ।’

प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै भएकाले क्षम्य हुन नसक्ने बताए ।


ओलीले लेखेका छन्, ‘ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै हो र क्षम्य हुन सक्दैन । सरकार यसमा स्पष्ट छ ।’

प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिईएको बताए ।

भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता हो भन्दै ओलीले यसका लागि सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्रलगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्ने बताएका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर २४ गते बुधबार, ११:१४