काठमाडौं: भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पाकिस्तानको एक अदालतले १० वर्ष कैद सजायको फैसला  सुनाएको छ । पाकिस्तानको भ्रष्टाचारविरोधी एक अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम नवाजलाई भ्रष्टाचारी ठहर गरेको हो ।

शुक्रबार अदालतले नवाफ सरिफलाई १० वर्ष र मरियमलाई ७ वर्षको जेल सजाय हुने फैसलासमेत गरेको छ । यस्तै, मरियम नवाजका पति सफदरलाई पनि भ्रष्टाचारी ठहर गर्दै एक वर्षको जेल सजाय सुनाइएको छ । नवाज सरिफ र मरियमबाट क्रमशः ८० लाख पाउन्ड र २० लाख पाउन्ड जरिवाना असुल गर्न पनि अदालतले आदेश दिएको छ ।

पाकिस्तानमा आगामी २५ जुलाईमा हुन लागेको चुनावमा मरियम नवाज लाहोरबाट उम्मेदवार बनेकी छन् ।


। अदालतको फैसलासँगै उनी चुनावी मैदानबाट स्वतः बाहिरिएकी छन् । उनीहरुविरुद्ध लन्डनमा सुविधासम्पन्न चारओटा अपार्टमेन्ट खरिदसम्बन्धी प्रकरणमा मुद्दा दायर गरिएको थियो । ९ महिनासम्म चलेको बहसपछि अदालतको यो फैसला आएको हो ।

नवाज सरिफले आफूविरुद्धको फैसला कार्यान्वयनलाई सात दिन पर सार्न अपिल गरेकामा अदालतले अस्वीकार गरेको छ ।