काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २ सय ८ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट मंगलबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ७९ जना, लेन उल्लंघन गर्ने ३ सय ९ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ५२ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ४४ जना, टिपर कारबाहीमा १ सय ६७ जना, सिसिटिभीमार्फत कारबाही ९० जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय ५ जना, अनावश्यक हर्न बजाउने ४६ जना, ब्हील लकबाट १ सय ८० जना र अन्य २ हजार ६ जना गरी जम्मा ३ हजार २ सय ८ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा मंगलबार ४१ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जनाले ज्यान गुमाएका छन् भने १ जना गम्भीर र ३० जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार मंगलबार १६ हजार २ सवारी साधनबाट ९० हजार २ सय ३० जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १७ हजार ५ सय २५ सवारी साधनबाट ९१ हजार ८ सय १६ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः बुधबार, चैत ५, ०८:१०