मकवानपुरः गढी गाउँपालिका–२ मा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी चढेका गढी गाउँपालिका–३ का ४६ वर्षीय भरत पुडासैनी रहेको प्रहरीले जनाएको छ ।

गढी दरबारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ३९ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खस्दा गम्भीर घाइते भएका पुडासैनीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक मक्रानचुली घर भएका ४१ वर्षीय कुमार पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी चौघडाले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, असोज ११, २०७७, १०:५९