काठमाडौंः मगरात संघर्ष समितिले प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन र आन्दोलनको कार्यक्रमहरुको घोषणा गरेको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी मगरात संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो ।

आफूहरुको काँधमा ऐतिहासिक जिम्मवारी आइपरेको भन्दै संघर्षको निम्ती तयारी गर्न समितिले प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन समेत गर्न लागेको जनाएको छ ।

मगरात संघर्ष समिति नेपालका अध्यक्ष राम मगरले दुई तिहाई बहुमतको सरकारले संसद विघटन गरी मुलुकलाई नै द्वन्द्वमा ल्याएको भन्दै आउँदो २०७७ फागुन २२, २३ र २४ गते दाङको घोराहीमा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए ।


अध्यक्ष मगरले मुलुक जोगाउनको निम्ति र आम नेपाली जनताहरुको सम्मानजनक व्यवस्थापन गर्नका लागि संघर्ष भन्दा विकल्प नदेखिएको तर्क गरे । उनले भने, ‘एकीकरणको नाममा जुन नयाँ नेपाल बनेको छ । अहिलेको गणतन्त्रमा आइपुग्दा पनि संविधानमा हामीहरुको अधिकार सुनिश्चित गरिएन् ।’ दुई तिहाईको सरकार हुँदा किन संसद बिघटन गर्नुपर्यो भन्दै उनले प्रश्न गरे । उनले भने, ‘यो संविधान र शासकहरु गलत रहेछन् ।’ पद, कुर्सि, नाागोता बचाउन र विदेशीको दलाल भएको आरोप लगाए ।

उनले आन्दोलन देशव्यापी रुपमा गर्न समेत बताए । विदेशीको इशारामा पार्टीहरु चेलेको भन्दै देश गम्भीर सकटमा परेको तर्क गरे । उनले भने, ‘संसद बिघटन हुँदा हामी खुशी पनि छैनौँ दुखी पनि छैनौँ किनभने यो संविधान सुरुवाती दिन देखि नै अपूरो थियो र अपुरो छ ।’ संसद विघटनले गर्दा संविधान नै धरापमा परेको उनले जिकिर गरे ।

कार्यक्रममा बहुल राष्ट्रिय मञ्चको सदस्य सचीव तेन्थङ निभक लिम्बु र संघर्ष समितिका केन्द्रिय सचीव चन्द्र शिरीष मगरले अगामी फागुनमा हुने राष्ट्रिय सम्मेलन र आन्दोलनको विषयमा जानकारी गराएका थिए ।


प्रकाशित मितिः २०७७ साल पुस १८ गते शनिबार, २०:०४