बागलुङः भिषण वर्षापछि गएराति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ।

गलकोट नगरपालिका–७ को बाँस्खोला, आँगाखेत र वडा नं ३ हटियामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो। जिल्लाको पश्चिम भेगबाट छोटो तथा लामो दूरीमा चल्ने यातायात रोकिएको जनाइएको छ।

गलकोट क्षेत्रका अधिकांश ग्रामीण सडक पनि पहिराले अवरुद्ध बनाएको वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले बताए।

‘ठाउँठाउँमा गएको पहिराले मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध छ,’ अध्यक्ष भण्डारीले भने, ‘पहिराले अन्यत्र पनि भौतिक क्षति पुर्याएको  छ।’

पहिरो हटाई लोकमार्ग सुचारु गर्न प्रयास भइरहेको हटिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टेकबहादुर खाडामगरले बताए।


। रातभर परेको अविरल वर्षापछि जिल्लाभरको जनजीवन प्रभावित भएको छ।