भक्तपुरः मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई नगरपालिकाको कार्यपालिका बैठकको बहुमत सदस्यले मन्त्रालयलाई फिर्ता गर्न आग्रह गरेको छ ।

आज बिहान बसेको कार्यपालिका बैठकमा ११ जना सदस्यले प्रमुख प्रशासकिय अधिकृत उद्धब प्रसाद रिजाललाई मन्त्रालय फिर्ता गरी अर्को कार्यकारी पठाउन आग्रह गरेको हो । उप प्रमुख अन्जनादेवी मधिकर्मीसहित ८ जना सदस्यहरु भने बैठकमा उपस्थित भएका थिएनन् । कार्यपालिकामा जम्मा १९ जना सदस्य रहेका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बैठकमा प्रमुख प्रशासकिय अधिकृत रिजालले नगरसभाबाट बजेट विनियोजना भई नियमित रुपमा उपभोक्ता समितिमार्फत् भइरहेका कार्यहरुलाई दशैंको अगाडि पनि रकम निकाशा नगरी दुःख दिइएको, नगरको आन्तरिक राजनीतिमा सहभागि भई चलखेल गरिएको, नगरपालिकाका दस्तावेजहरुलाई बदनियत पूर्वक बाहिर पठाइएको कारण मन्त्रालयमा फिर्ता गरी अर्काे प्रमुख प्रशासकिय अधिकृत पठाउन मन्त्रालयमा पत्रचार गर्ने निर्णय भएको जानकारी दिए ।


यस अघि कार्तिक ७ गते प्रमुख श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई सम्बद्ध मन्त्रालयमा फिर्ता गर्न पत्राचार गरेका थिए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २३ आइतबार, १५:२१