काठमाडौंः तराईं मधेस केन्द्रित दुई दल समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच बुधबार मध्यरातमा पार्टी एकता घोषणा भएको छ ।

दुई पार्टीका नेताहरुबीच बुधबार भएको करिब ६ घण्टा लामो वार्ता र रस्साकस्सीबची नयाँ पार्टीको घोषणा भएको हो ।

दुई पार्टी एकता भएपछि नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ । एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा हुने सहमति भएको छ भने चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।

पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ ।


राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् । एकताको सहमतिपछि सार्वजनिक पत्रमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन्। त्यसैगरी समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टी नेपाल आज दल दर्ताका लागि निर्वाचन आयोग जाने भएको छ ।



प्रकाशित मितिः बिहीबार, वैशाख ११, १०:०४