काठमाडौंः कोरोनाको महामारी सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्दै मनघरी फाउण्डेसनले यसलाई निरन्तरता दिएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच मुगु जिल्लाका स्थानीय तहका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मनघरी फाउण्डेसनको पहलमा आरम्भ सामाजिक संस्था, आनी छोयड डोल्मा फाउण्डेशन, राष्ट्रिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजका प्रताप शाहीको सहयोगमा उपलब्ध स्वास्थ्य सामग्री वरिष्ठ कलाकार हरिवंश आचार्यले मुगुका अगुवा तथा समाजसेवी राजु कार्कीलाई हस्तान्तरण गरेका हुन ।

अगुवा कार्कीले जती सक्यो उती चाँड्यो हामी सम्बन्धित स्थानमा स्वास्थ्य सामाग्रीहरु पुर्‍याउने बताए ।


। मुगुका लागि २८ थान पीपीई सेट, २८ थान फेसल सिट, एक हजार थान सर्जिकल मास्क, १ सय १२ थान साबुन, २८ थान फस्ट एड किट पठाइएको हो । उक्त सामग्री मुगुका चारवटै स्थानीय तहमा पठाइनेछ ।

सामग्री हस्तान्तरणपछि कलाकार हरिवंश आचार्यले कोरोनाको यो महाविपदमा सबैले एक एक गरी सहयोग गरे सबैले यो कहरबाट मुक्ति पाइने बताए । आपत परेका बेला नै मानिसको सहयोगी मन पहिचान हुने भएकाले सहयोगलाई निरन्तरता दिन आचार्यले आग्रह गरे ।

आनी छोइङ डोल्मा फाउण्डेसनकी अध्यक्ष आनी छोइङ डोल्माले आफूहरुले सकेको सहयोग गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रबिद्धता जनाइन ।

कार्यक्रममा सहभागी प्रारम्भ सामाजिक संस्थाका कार्यक्रम संयोजक बद्री तिमिल्सिनाले ठूलो सहयोग गर्न नसके पनि सहयोगी हातहरुले साथ दिएसम्मको सहयोग उपलब्ध गराएको बताए ।

मनघरी फाउण्डेसन र दैलेखि सेवा समाजका सल्लाहकार डा. रविन खड्काले विपदका बेला नेपालमा सम्हाल्न मनकारीहरु नै अगाडि आउने गरेको भन्दै सहयोगी हातहरु अरु पनि बढ्नुपर्ने बताए ।

मनघरी फाउण्डेसनले यसअघि दैलेखमा सबै स्थानीय तहका लागी तीन पटक, हुम्लाका सबै स्थानीय तहमा, डोल्पाका सबै स्थानीय तहमा, डोटीका दुई स्थानीय तहमा बिभिन्न संघ सस्थाहरु सग सहकार्य गरेर स्वास्थ्य सामग्रीहरु पठाइसकको अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए ।

कार्यक्रममा पूर्व सांसद तथा समाजसेवी राजीव विक्रम शाहलाई सम्मान गरिएको छ । साहलाई वरिष्ठ कलाकार हरिवंश आचार्यले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

विगत लामो समयदेखि सामाजिक सेवा क्रियाशील शाहको समाजसेवाप्रति उच्च सम्मान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

शाह आफ्नो क्षेत्रका नागरिक बिरामी हुँदा व्यक्तिगत खर्चमा हेलिकप्टर नै चार्टर गरी काठमाडौंका अस्पतालमा पुर्‍याउने त कहिले राहत लिएर गाउँमै पुग्ने शाहको समाजसेवालाई कदर गर्दै सम्मान गरिएको मनघरी फाउण्डेसनका अध्यक्ष थापाले बताए ।

शाहले कोरोना सुरु भएपछि पनि कर्णालीका दुर्गम क्षेत्रका लागि सहज होस भनेर कर्णाली प्रदेशलाई एक करोड भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । जाजरकोटमा आफ्नै व्यक्तिगत लगानीमा अस्पताल खोलेका साहले दुर्गमका जनताका लागि थुप्रै सहयोग गरेका छन् । उनको सोही समाज सेवाको भावनाको सम्मान र आगामी दिनमा उनको यो सहयोग निरन्तर जारी रहोस भन्ने उद्देश्यका साथ सम्मान गरिएको मनघरी फाउण्डेसनका अध्यक्ष थापाले जानकारी दिए ।

कार्यक्रममा भीआरएफएनका अध्यक्ष विनोद अधिकारी, प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष कल्पना क्षेत्री, मुगुका पर्यटन व्यवसायी राजु कार्कीलगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मितिः आइतबार, असार २१, २०७७, ०७:५७