काठमाडौंः सरकारले दुई चरणमा निर्वाचन गर्ने जिल्लाको टुंगो लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुई चरणमा निर्वाचन गराउन छुट्याएको प्रदेशका आधारमा पहिलो चरणमा वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन हुनेछ ।

पहिलो चरणमा १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा निर्वाचन गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

उनका अनुसार दोस्रो चरणमा २७ वैशाखमा प्रदेश १, बाग्मती र कर्णालीका ३७ जिल्लामा निर्वाचन गराउने निर्णय गरिएको छ ।

आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए ।


। सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उसैदिन सदर गरिदिएकी थिइन् ।

यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २७ गते मंगलबार, ११:२०