काठमाडौं: नेपाल प्रहरीमा अब ३ जनामात्रै एआईजी रहने भएका छन् । त्यस्तै, सशस्त्र प्रहरीमा २ जना एआईजी रहने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको दरबन्दी कटौतीको निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।

संघीय प्रहरी ऐनको मस्यौदा निर्माणका क्रममा रहेको गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा ३ जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।


मुख्यालयका २ जना र विभाग तथा प्रहरी एकेडेमीमा एक जना एआईजी राख्न लागिएको हो। नेपाल प्रहरीमा अहिले प्रशासनतर्फ कोही एआईजी छैनन्। प्रहरी अस्पतालमा भने एआईजी कार्यरत छन्।

१० जनासम्म रहेको सशस्त्र प्रहरीमा पनि अब २ जना मात्र हुनेछन्। सशस्त्रमा अहिले ७ जना एआईजी छन्। उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय भइसकेको छैन।

प्रादेशिक संरचनानुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गरिने निर्णय पनि गरेको छ । त्यस्तै, नेपाल प्रहरीलाई सबै स्थानीय इकाईमा लैजान १६ सय नेपाल प्रहरीको दरबन्दी खुलाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यसैबीच, रसुवाको स्याफ्रुबेंशी–चीन पुल र सिन्धुपाल्चोकको मितेरी पुल पुनर्निर्माणका लागि परराष्ट्र, ऊर्जा र अर्थ मन्त्रालय र चीन सरकारबीच सहमति भएको बताइएको छ ।