काठमाडौंः मन्त्रिपरिषद् बैठकले यस हप्ता गरेका निर्णयहरु सार्वजनिक गरिएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले यस हप्ता गरेका ६ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

नेपाली सेनाका सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरुलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने, विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने अनुदान सहायता स्वीकार गर्ने, सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत, विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने, नख्खुखोला–भैंसेपाटी–बुङ्गमती सडक स्तरोन्नति गर्न राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।


यस्ता छन् निर्णयः

१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने २ अर्ब ७१ करोड १३ लाख रूपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

२. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।

३. आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ ।

४. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

५. नख्खुखोला–भैंसेपाटी–बुङ्गमती सडक स्तरोन्नति गर्न राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

६. नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्तर्गतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा ऊर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २४, ०६:३९