काठमाडौंः सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता युवराज खतिवडाले गत असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

यस्ता छन् निर्णय :

१.विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३ सय मिलियन (करिब ३० करोड ८० लाख रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने ।

२.बोराङ नौविसे २२० के.भी. प्रसारण लाइन आयोजना र कुशाहा-विराटनगर १३२ के.भी. प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक कारबाही गर्ने अधिकारी क्रमशः सहायक लेखा अधिकृत प्रल्हाद कुमार कार्की र सहायक प्रशासकीय अधिकृत कृष्ण कुमार खड्कालाई तोक्ने

३.हत्या भई मृत्यु भएका सर्लाही जिल्लाको रामनगर गाउँपालिका वडा नं. ४ बस्ने मृतक रामजलंम रायको परिवारलाई राहत/क्षतिपूर्ति स्वरूप रु. १० लाख (अक्षरेपी दश लाख मात्र ) उपलब्ध गराउने ।


४.संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभाको आर्थिक वर्ष २०७६/७७ को लागि नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव (मिनिष्टर)-१ र राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव (मिनिष्टर काउन्सेलर/ काउन्सेलर)-१ गरी २ (दुई) वटा अस्थायी दरबन्दी नवीकरण/स्वीकृत गर्ने।

५.भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश (पहिलो संशोधन), २०७७ स्वीकृत गर्ने ।

६.हाल स्थगित रहेको श्रम स्वीकृति दिने कार्य देहाय बमोजिम हुने गरी खुला गर्ने:-

क) बिदामा नेपाल आएका तथा भिसा अवधि र करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिने ।

ख) यस पूर्वको करार अवधि समाप्त भई पुन: करार नवीकरण गरेका र भिसाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरूसहित निवेदन दिएमा कोभिड-१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल समेतको आधारमा पुनःश्रम स्वीकृति जारी गर्ने ।

७. १. विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमण सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/२/२८ गतेको निर्णयअनुसार संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशको क्रमसङ्ख्या २ को खण्ड (फ) पछि देहायको खण्ड (ब) थप गरी उक्त आदेशलाई मिति २०७७ साउन ६ गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१) मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी निरन्तरता दिने। सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने ।

(ब) उपर्युक्त खण्ड (क) देखि (फ) सम्म जुनसुकै व्यहोरा लेखिएको भएता पनि कोभिड-१९ को संक्रमणको जोखिम विश्लेषणका आधारमा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) ले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी जिल्लाको सम्पूर्ण भू-भाग वा कुनै क्षेत्रमा बन्द गराउन वा सिल गर्न सक्नेछ ।

७.२. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/२/१२ को निर्णयबमोजिम जारी भएको नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ मा उल्लेख भएबाहेक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ रोगको संक्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्रराष्‍ट्रहरू लगायत अन्य मित्रराष्‍ट्रहरूले चालेका प्रयास र अनुभवसमेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई सो रोगको संक्रमणबाट सुरक्षित राख्‍न नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन २०७७ असार १६ गते मङ्गलबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई मिति २०७७ साउन ६ गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१) मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने। तर, मालसामानको ढुवानीलाई यथावत कायम राख्‍ने। सबै किसिमका आन्तरिक र बाह्य व्यवसायिक यात्रुबाहक हवाई उडानहरू उक्त अवधिसम्म स्थगन गर्ने। यो आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरूलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने ।

७.३.नेपाल आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकका विदेशी राहदानीबाहक सन्तान, नेपाली नागरिकको विदेशी राहदानीबाहक पति वा पत्नी र स्वदेशमा आफन्तको काजकिरिया गर्न आउनुपर्ने नेपाली मूलका विदेशी राहदानीबाहकलाई सम्बन्धित नेपाली नियोगको सिफारिसमा नेपाल आउन स्वीकृति दिने ।

७.४.त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन/प्रस्थान क्षेत्रमामा खटिई फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा वायु सेवा कम्पनीका चेक-इन ब्यागेज लोड-अनलोड गर्ने व्यक्तिहरूले प्रयोग गर्ने मास्क, स्यानिटाइजर र ग्लोभ्स स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयले उपलब्ध गराउने ।

७.५.त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरूलाई विभिन्न होल्डिङ सेन्टरसम्म लैजान नेपाली सेनाका सवारी साधन प्रयोग गर्ने र सोको लागि आवश्यक इन्धन खर्च नेपाली सेनालाई उपलब्ध गराउने ।

७.६.हवाईमार्ग वा स्थलमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरहको सुविधा भएको व्यहोरासहित होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेमा स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिसको आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमको होम-क्वारेन्टाइनसम्बन्धी मापदण्ड पालना गर्ने गरी डिसिसिएमसीले होम-क्वारेन्टाइनमा बस्न अनुमति दिन सक्नेछ ।


प्रकाशित मितिः बिहीबार, असार १८, २०७७, २१:१७