काठमाडौं : बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गत बर्ष भदौ १४ पछि देउवा सरकारले गरेका निर्णयहरु खारेज गर्ने निर्णय गरेको छ ।

खारेजी सगै उक्त सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने सम्भावना बढेको छ । खारेज भए उनीहरुले डीआइजीकै स्टाटसमा जागिरबाट बाहिरिनुपर्ने भएको छ ।

त्यसरी निर्णय बदरमा पर्ने सशस्त्रका ५ एआइजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ बढुवामा परेका थिए ।

उनीहरुलाई गत माघ ७ गते तत्कालीन गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित सिफारिस समितिको निर्णय अनुसार सरकारले डीआइजीबाट एआइजीमा एकसाथ बढुवा गरेको थियो ।