काठमाडौंः त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियामाथि ९ विकेटको जित हात पारेको हो ।

जितको लागि मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतीमा पूरा गरेको हो ।

नेपालका ओपनर कुशल भुर्तेल अविजित ६१, आसिफ शेखले ४२ र दीपेन्द्रसिंह ऐरी अविजित ६ रन बनाए ।

मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो ।

मलेसिया ओपनर सायद अजिजले २७, शार्भिन निएन्डीले २०, अमिनुद्दीन रामलीले १५, अनवर अरुदिनले ८, कप्तान विरन्दीप सिंहले ६ र अहमद फाइजले ३ रन बनाए ।


नेपालका लागि करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले १र१ विकेट लिए ।

नेपालको यो लगातार दोस्रो जित हो । नेपालले २ खेलमा ४ अंक जोडेको छ ।

नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।

मलेसियाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

नेपालले अर्को खेल मंगलबार नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्नेछ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ६ गते सोमबार, १७:३६