काठमाडौंः नेपाली कामदारको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य मलेसियाले आप्रवासी कामदारविरुद्ध देशैभरि धरपकड थालेपछि नेपालीसहित सयौँ आप्रवासी कामदार पक्राउ परेका छन्।

अढाई वर्ष अघिदेखि पुनःभर्ना र आममाफी कार्यक्रममार्फत त्यस्ता कामदारलाई पुनः रोजागारी वा घर फर्कन सकिने ऐच्छिक अवसर दिइएको थियो तर उक्त कार्यक्रमको अवधि जुन महिनामा सकिए लगत्तै मलेसिया सरकारले थप कडाइ गर्न थालेको हो।

पक्राउ पर्ने कामदारहरूको यकिन संख्या थहा नभएपनि गत आइतबारदेखि अवैधानीक रुपमा रहेका कामदार धरपकडलाई निरन्तरता दिइरहेको छ र सयौं नेपालीहरुपनि पक्राउ परेको बताइएको छ ।


। यद्यपि आममाफी कार्यक्रम भने आगामी महिनासम्म रहने जनाइएको छ।

कतिपय अधिकारवादी संस्थाहरूले उक्त कदमले कामदारलाई असुरक्षित बनाएको प्रतिक्रिया दिइरहेका बेला त्यहाँको सरकारले भने विदेशी कामदारहरूको निर्भरता हटाउन मलेसियाले नयाँ नीति अवलम्बन गर्ने तयारी गरिरहेको र अवैधानीक रुपमा रहेका आप्रवासीहरुलाई धरपडक गरि उनीहरुको देशमा फिर्ता पठाउन लागेको बताएको छ ।

मलेसियाली सञ्चारमाध्यमहरूका अनुसार गत आइतवार राजधानी क्वालालम्पुर र आसपासका क्षेत्रबाट मात्रै २२९ जना अवैधानिक आप्रवासी कामदार पक्राउ परिसकेको र अन्य क्षेत्रमा समेत कयौँ विदेशी कामदारमाथि खानतलासी र पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा इन्डोनेसियालीदेखि बांग्लादेशी र नेपाली लगायत विभिन्न मुलुकका नागरिकहरू छन्।

मलेसियामा करिब ५ लाख नेपालीहरू वैधानिक रूपमा कार्यरत रहेको र हजारौँ अवैधानिक अवस्थामा रहेको हुनसक्ने अनुमान छ।

सरकारी तथ्या‍ङ्क अनुसार यसअघि वैधानिक हुन दिइएको कार्यक्रममार्फत श्रम स्वीकृति लिने प्रक्रियामा दर्ता भएका ७ लाख ४४ हजारभन्दा बढी आप्रवासी कामदारमध्ये झण्डै आधाजसोले मात्रै पूर्ण प्रक्रियापछि श्रम स्वीकृति पाएका थिए।

उक्त कार्यक्रमबाट हजारौँ नेपाली लाभान्वित भएका थिए। तर कैयौँले अझैसम्म पनि श्रम स्वीकृति नपाएको गुनासो गरेका छन्।

नेपाली दूतावासले स्वदेश फर्कन अवैधानिक नेपाली कामदारलाई आग्रह गर्दै आएको छ तर आममाफी र धरपकड समेत सँगै भइरहेकाले बाटैमा पक्राउ परिने त्रासमा कतिपय त्यस्ता कामदार नेपाली दूतावाससम्म निर्धक्क पुग्न सकिरहेका छैनन् । अध्यागमन विभागका अधिकारीहरुले आगामी अगष्ट महिना सम्ममा स्वदेश फर्कन अवैधानिक आप्रवासीहरूलाई भनेका छन्।

त्यस्तो नगरिए कामदार र उनीहरूलाई रोजगारी दिने रोजगारदाता दुवैलाई कारबाही गरिने चेतावनी उनीहरूले दिएका छन् । आप्रवासी कामदार र मानव अधिकारको क्षेत्रमा क्रियाशील संघसस्थाहरूले हाल जारी अवैधानिक आप्रवासी कामदारमाथिको धरपकड रोक्न र उचित नीतिगत सुधार गर्दै उनीहरूको सही व्यवस्थापन गर्न सरकारलाई गरेका छन् ।

विभिन्न अधिकारवादी समूह एवं संघसंस्थाहरूले कामदारहरू अवैधानिक हुनुमा बाध्यताहरू रहेका भन्दै धरपकड समस्या समाधानको सही उपाय नभएको औँल्याएका छन्।

उनीहरूले अवैधानिक आप्रवासी कामदारहरूको मानव अधिकारको ख्याल गर्दै सम्मानजनक व्यवहार गर्नसमेत आग्रह गरेका छन् । बीबीसी