दार्चुला : ५ वर्ष पहिले महाकाली नदीले दार्चुला सदरमुकाम खलंगा बगाएर नदी किनारका बस्तीमा ठूलो क्षेति गरेको थियो ।

जिल्ला सदरमुकाम खलंगाको स्वरुप नै परिवर्तन गर्ने गरी महाकालीमा आएको बाढीले जिल्ला सदरमुकाम खलंगा लगायत सयौँ स्थानियहरु घरबार विहीन हुदाँ महाकालीले विचल्ली मच्चाएको थियो ।

यसपटक पनि लगातार तीन दिनदेखि पानी परे सगै महाकाली नदीमा पानीको बहाव बढेपछि नदी किनारका बस्तीमा त्रास फैलिएको छ।
नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर नौ सेन्टिमिटर रहेकामा बेलुका केही घटेर तीन मिटर ९० सेन्टिमिटर पुगेको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रले जनाएको छ ।


पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने र महाकालीमा बाढी आउने आंशका गरिएको छ।महाकाली नदी किनारका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायतका बस्तीमा त्रास फैलिएको छ। महाकालीको डरले नदी किनारका नागरिक राति नसुतेरै बस्ने गरेका छन्।

नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन्। महाकाली नदी किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकीलगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ।

लगातारको वर्षाले जनजीवन प्रभावित बने पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो पहिरो र बाढीको घटना भएको छैन।

नेपालतर्फको नदी किनारमा पक्की तटबन्ध निर्माण गरिएको भए पनि सो क्षेत्रमा खसेको पहिरोले गर्दा ठाउँ साँगुरो भएको तथा पानीको बेगले कटान गर्नसक्ने तथा महाकालीको पानी बंगाबगड बजारसम्म आउने खतरा रहेको प्रहरीले जनाएको छ।