विसं १७२७ ( इसं १६७०) मा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी तिन सय पैंतालीस वर्षपछि विसं २०७२ सालको महाभूकम्पका कारण क्षतिग्रस्त हुन पुग्यो । त्यसपछि रानीपोखरी निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले पुरातात्विक महत्वको रानीपोखरीलाई नयाँ स्वरुपमा निर्माण गर्न चाह्यो ।

महानगरले आधुनिक स्वरुप दिएर दर्शक बढाउन खोजेपछि सम्पदा संरक्षणमा चासो दिने नागरिक अगुवाहरुको ध्यान तानियो । महानगरपालिकाले पुरानो शैलीको रानीपोखरीलाई नयाँ स्वरुपमा निर्माण गर्न टेन्डर गरी काम पनि सुरु गरेको अवस्थामा जनचासो बढेपछि सो निमार्णकार्य रोक्न बाध्य भयो । पुरातत्वले पनि यतातिर चासो बढायो ।


महानगरले निमार्णकार्यमा ठूलो धनराशि खर्च पनि गरिसकेको छ । अब रानीपोखको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर पुरातात्विक शैलीमा पुरातत्वले निर्माण गर्ने बताइएको छ । महानगरले समग्र रानीपोखरी निर्माण रोके पनि मन्दिरबाहेक पोखरीको अन्य भाग आधुनिक शैलीमै निर्माण गर्ने बताइरहेको छ । रानीपोखरी काठमाडांै महानगरको विशेष सम्पदा हो । यसले यहाँका समुदायको धार्मिक तथा सांस्कृतिक महत्व राख्छ । महानगरले आम्दानी गर्ने लोभमा यसलाई फेरेर रिसोर्ट जस्तै आकर्षक बनाउन खोज्दा देशको विशेष सम्पदा नष्ट हुन्छ । आमनागरिकले यसलाई गलत कार्य मानेका छन् । काठमाडौंका अन्य सम्पदालाई यस्तै हचुवाका भरमा स्वरुप परिवर्तन गर्दै जाने हो भने राष्ट्र र समुदायको पुरातात्विक सम्पदा नष्ट हुँदै जान्छ । यस्तो कार्य रोकिनुपर्छ । महानगर भने अझै पनि नयाँ रुप दिने अडानमै छ ।
यसै विषयमा काठमाडौं महानगरपालिका प्रशासन विभागीय प्रमुख ज्ञानेन्द्र कार्कीसँग पत्रकार आशिष पौडेलले गर्नु भएको कुराकानी ।

रानीपोखरी निर्माणकार्य ढिला हुनुको कारण के हो ?

यसमा धेरै कारणहरु छन् जसमध्ये एउटाचाहिँ पुरातत्व विभाग पनि हो । समयमा नै यसको नक्सा डिजाइनहरु स्वीकृति भएन र अर्को कारण भनेको जब हामीले टेन्डर गर्यौं त्यसपछाडी विभिन्न सम्पदा संरक्षण अगुवाई गर्नेहरुको आफ्नो चासो, किनभने सरकारले रानीपोखरीको निर्माण गर्दै छ भने त्यसपछि समाजले यति धेरै ठुलो चासोको विषयमा यसलाई हेर्नु हुदैन किनभने सरकारले कहिले पनि सम्पदा मास्दैन र मास्न पनि खोज्दैन । जब हामीले टेन्डर गर्यौं त्यसपछाडी विभिन्न संस्थाहरुले उजुरी गर्ने, नराम्रो प्रचार प्रसार गर्ने गरे, यो पनि एउटा कारण हो । महानगरपालिका आफै पनि यो बषयमा सचेत छ । यहाँका मेयरहरु पनि सचेत हुनुहुन्छ । यो सम्पदा भनेको राष्ट्रिय गौरको कुरा हो । मेयरले पनि विज्ञहरुले दिएको सुझालाई मानेर काम गर्नुभएको छ ।

हालसम्म कति मुद्दा परेका छन् ? हामीलाई अवगत गराइदिन मिल्छ ?

मुद्दाहरु धेरै परेका छन् विभिन्न मुद्दाहरुबारे संचार माध्यममा आउने गर्छ तपाइँलाई पनि थाहा नै होला । यस विषयमा मैले भन्न पर्ने खासै आवश्यकता देख्दिन ।

तर, निर्माणकार्य सुरु गरेको पनि निकै भइसकेको छ, महानगरपालिकाले आफुले भनेको समयमा निर्माण कार्य सम्पन्न गर्न सकेन, अब यसले कहिले पूर्णता पाउँछ त ?

नयाँ तरिकाको नक्सा डिजाइन अनुसारको पुरातत्व विभागबाट पत्र लेखेर सहमति भइसके जस्तो मलाइ लाग्छ, त्यो आइसकेपछि हामीले नयाँ टेन्डरमा जानुपर्छ, त्यसपछाडी निर्माण कार्य अगाडी बढ्छ । बाहिर जुन पर्खालहरु लगाइएको थियो, त्यसलाई भत्काउनु पर्ने नै छ । प्राविधिकले दिएको राय सुझाब र सल्लाह अनुसार हामीले काम गर्ने हो। पुरातत्व विभागले पहिला पनि अड्याउनका लागि रानीपोखरीको तल्लो भागमा जुन पर्खाल लगाएको थियो, त्यो पनि सिमेन्ट कै छ । रानीपोखरी बन्न नदिने र यहाँका मेयारहरुलाई असफल गराउन चाहानेहरुको जमात छुट्टै छ । तिनिहरुकै कारणले यो ढिलो हुन गएको अवस्था पनि हो।

अब रानीपोखरी कस्तो शैलीमा निर्माण हुन्छ ? नयाँ शैलीमा हुन्छ या पुरानो शैलीमा ? यो विवादलार्इ कसरी टुङ्ग्याउनु हुन्छ ?

अहिले विज्ञहरुले जुन तरिकाको रिपोर्ट दिएका छन् त्यसै अनुसार बन्छ । मन्दिर पुरातत्व विभाग आफैले बनाउंदै छ भन्ने विषयमा कुनै दुइमत भएन । हामीले हेर्ने भनेको वरिपरिको भाग हो । अहिले हामी पोखरीमा पानी कसरी अड्याउन सकिन्छ भनेर पुरानो पानीको स्रोत खोजिरहेका छौं तर अहिलेसम्म पनि हामीले स्रोत भेटाउन नसकेको अवस्था छ । पानी सधैभरि हालेर राख्ने कुरा पनि सम्भव हुँदैन । पहिले भनेको मुख्य पानीको स्रोत पत्ता लगाएर त्यहि किसिमबाट नै रानीपोखरीको निर्माण हामीले गर्दै छौं। हामीले नयाँ स्वरुप भनेर पुरानो तरिकालाई मोड्न खोजेको होइन ।

पानीको शुद्धता कस्तो रहन्छ, रानी पोखरीको पानीलाई शुद्ध मान्न सकियोस् भनेर विभिन्न ५१ वटा तिर्थस्थलको जल ल्याएर मिसाएको भन्ने भनाइ पनि छ । त्यो शुद्धताले मान्यता पाउँछ कि पाउँदैन ?

अहिले हरेकको घरमा विभिन्न तिर्थ स्थलको जल छ । त्यस्तो होइन, त्यो बेलामा के हिसाबमा उनले जल ल्याएर राखे त्यसमा नै हामीले जानुपर्छ भन्ने छैन । त्यसको महत्वको बारे हामीलाई थाहा भएर, जल राखेर स्वस्थकर हुने होइन जस्तो लाग्छ मलार्इ । तर पानीचाहीँ स्वस्थकर हुनुपर्यो, त्यहाँ माछा र हाँस राम्रोसंग बाँच्न पाउनु पर्यो । त्यो जलको विस्वास मलार्इ लाग्दैन ।

पोखरी निर्माणमा कति रकम छुट्याइएको छ ? यसमा अन्य स्रोतको सहयोग छ की छैन ?

यसमा कसैको पनि सहयोग छैन, काठमाडौं महानगरपालिकाले करीब दस करोड बराबरको लागत खर्चको अनुमान गरेको हो । हामीले टेन्डर गरिसकेपछि ६ करोड ३१ लाखमा आएको थियो । यो पूर्ण हाम्रै खर्चमा निर्माण हुन्छ । यसमा रानीपोखरीलगायत आसपासको क्षेत्र पनि समेटीएको छ ।

हरेक वर्षको भाइटिकामा रानीपोखरी मन्दिर खुल्ला गर्ने गरिन्थ्यो अहिले आउने भाइटिका सम्ममा यो खुला हुने वातावरण हुन्छ कि हुँदैन ?

पोखरी नसकिए पनि मन्दिरको काम भइरहेको छ त्यसकारणले गर्दा आगामी भाइटिका सम्ममा मन्दिर खुला हुन्छ । आउने भाइटिकामा श्रद्धालुहरुले दर्शन गर्न सक्छन् । मन्दिरको सरसामग्री हामीसंग सुरक्षित छ। त्यसमा समस्या आउँदैन।

रत्नपार्कमा अहिले सञ्चालन रहेको बाटो बन्द गर्ने र पोखरी क्षेत्रलाई खुल्लामञ्च सँगैको पार्कसम्म नै जोड्ने कुरा थियो यो के हुन्छ ?

तत्काललाई हामी यसलाई केहिँ गर्दैनौं, नयाँ योजना आयो भने मात्र त्यो काम हुन्छ । यदि काम भएको अवस्थामा सैनिक मञ्च र खुला मञ्चमा अहिले जुन बाटो छ, त्यसमध्ये आर्मीले अलिकति जग्गा छाड्ने र हामीले पनि अलिकति जग्गा छाडेर त्यहाँबाट बाटोको निकास दिन सक्ने अवस्था छ । यसको व्यवस्थापन बारे पछि काम हुने छ । अहिलेको लागि रानीपोखरी र शान्तिबाटिकासम्मको काम मात्र हुने छ । यो टेन्डरमा रत्नपार्कको बाटो समेत बारेर नयाँ स्वरुप दिने योजना छैन ।

म्युजिकल फाउन्टेन चलाउने कुरा छ, यहाँ कस्ता किसिमका धुनको प्रयोग हुन्छ ? दैनिक भिजिटर ३ हजार हुने अपेक्षा महानगरपालिकाको छ । स्वदेशी तथा विदेशी पर्यटकका लागि कस्तो-कस्तो व्यवस्था हुने छ ?

तीन हजारभन्दा पनि बढी स्वदेशी तथा बिदेशीले पोखरीको अवलोकन गर्ने अनुमान अहिले हामीले गरेका छौं । म्युजिकल फाउन्टेन चलाउने कुरा हामीले गरेका छौं । बिदेशी पर्यटकका लागि एउटा गन्तब्यको रुपमा सुन्दर सांझको रुपमा यो संचालन हुनेछ, कम्तिमा रातको १०(११ बजेसम्म संचालन गर्ने हाम्रो योजना छ। यस अन्तर्गत हामीले विशेषगरि नेवारी धुनको प्रयोग गर्ने छौं साथसाथै नेपालका राष्ट्रिय तथा मौलिक धुन पनि समावेस गरिने छ । यसले पर्यटकलाई घुम्न योग्य अवश्य पनि बनाउने छ। यस भित्रको सरसफाइको कुरा हामीलाई चुनौती पनि हुन सक्छ । सुविधायुक्त शौचालय, कफी सप जस्ता कुराको व्यवस्थापन भइसकेपछि मात्र पूर्ण रुपमा यो संचालनमा आउने छ ।