काठमाडौंः आश्विन शुक्ल प्रतिपदाका दिन आज घर घरमा जमरा राखेर नेपालीको महान् पर्व बडादशैं सुरु भएको छ । यो दिनलाई घटस्थापना पनि भनिन्छ ।

बडादशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दीयो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिंदैछ । आजैदेखि दशैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

जमरा कसरी राख्ने

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ ।


महान पर्व बडादशैंको उल्लास सुरु भइसकेको छ । यस वर्षको कार्तिक १ गतेबाट नवरथा सुरु हुँदैछ । नवरथामा नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ ।

जमरा राख्नुका कारण

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको धार्मिक भनाइ रहेको छ । जमरा राखिएको स्थान नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीका स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (सम्हार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

घटस्थापनाको शुभ मुहूर्त

घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

देवीको पूजा प्रक्रिया

दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।

दशैंका नौ दिनः कुन दिन कसको पूजा गर्ने

यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

नवरात्रिको सुरुवात आजबाट भयो, अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्तिपीठहरुमा श्रद्धालुहरुको भीड लाग्छ । बिहान–बिहान जमराको पूजापाठ गरिन्छ भने दशमीका दिन चामल, रातो अविर, दही अथवा केरा मिश्रित अक्षताको टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिषले जीवनमा खुसियाली प्राप्त गर्ने चलन नेपाली समाजमा छ ।

जमरा कति र कहाँ राख्ने

जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुराचाँहि परिवारको संख्या अनुसार निर्धारण गरिन्छ । संयुक्त परिवारहरुले निकै ठूलो ठाँउमा जमरा छर्ने गर्दछन् भने परिवारको सदस्य संख्या कम भएका परिवारले सानो ठाउँमा जमरा छर्दछन् । यसरी छरिने जमरालार्इ माटोको चतुर्भुज आकारको बीच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीको दिन भने आवश्यकता अनुसार जमरालाई उखेलेर टीका लगाउन चाहिए जति झिक्ने गरिन्छ ।

दशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक–फरक छ । कतै सामूहिक रुपमा दशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपीठ अनि मठमन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजाकक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ ।

जमरा राख्दा त्यस्तो कोठा छनोट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस्, यसरी प्रकाश नपरेका जमराहरू पहेँला हुन्छन ।

समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मान्यजनको हातबाट दशैंको टीका लगाउन देश–विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् ।

  • – मोहन सिपाडोल

प्रकाशित मितिः २०७७ साल कार्तिक १ शनिबार, ११:१४