काठमाडौंः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्र्याटहरुले गरेको ‘कु’ को प्रयास भनेका छन् ।

ती डेमोक्र्याटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप पनि ट्रम्पले लगाएको बीबीसीले उल्लेख गरेको छ ।

डेमोक्र्याटिक वरिष्ठ नेता तथा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख रहेकी न्यान्सी पेलोसीलाई लेखिएको ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा ट्रम्पले आफूलाई गरिएको व्यवहार १७औं शताब्दीमा जादुटुना गर्नेलाई गरेजस्तो भएको बताए ।

पेलोसीलाई लेखिएको पत्रमा उनले ‘अमेरिकी प्रजातन्त्रमाथि खुल्ला युद्ध’ को घोषणा गरेको भनी आरोप लगाएका छन् ।


मंगलबार पठाइएको पत्रमा उनले महाभियोगजस्तो शब्दको महत्त्वलाई सस्तो बनाइएको पनि बताएका हुन् ।

बुधबार हुने मतदानमा परिणाम केही फरक होला कि भन्ने झिनो आशामा ट्रम्पले महाभियोग प्रक्रियाबारे सदनकी सभामुख पेलोसीलाई ६ पृष्ठ लामो रोषपूर्ण पत्र लेखेका हुन् ।

शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा पुर्‍याएको भन्ने विशेष आरोपमा राष्ट्रपतिले पहिलो आरोप ‘निराधार हस्तक्षेप’ भएको र दोस्रो ‘खतरनाक र निरर्थक’ भएको बताए ।


प्रकाशित मितिः बुधबार, पुस २, १२:४५