काठमाडौंः महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्‍याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिदै यस बैंककोे शंखमूल शाखाले बुद्धनगर वडा नं. १० मा अवस्थित बुद्घनगर आधारभूत विद्यालयलाई एक विशेष कार्यक्रमका बीच स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ ।

उक्त विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकून् तथा बिभिन्न रोगहरुबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शंखमूल शाखाका शाखा प्रवन्धक पून्य श्रेष्ठले जानकारी दिए ।

सोहि कार्यक्रममा बोल्दै विद्यालय संचालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन प्रदान गर्नुले छात्राहरुमा विद्यालय आउने थप हौसला मिलेको बताउँदै बैकलाई धन्यवाद ज्ञापन गरे ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७८ साल माघ १० गते सोमबार, १५:२५